७ बैशाख २०८१, शुक्रबार

गोकर्णेश्वर नगर क्षेत्रका योग शिविरलाई सामग्री


योग

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सञ्चालित १३ वटा योग शिविरलाई आवश्यक सामग्री प्रदान गरेको छ । जोरपाटीस्थित भैरव अर्याल स्मृति भवनमा आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले १३ वटै योग शिविरका संयोजकलाई म्याट, साउण्ड सिस्टम, पङ्खालगायत आवश्यक सामग्री प्रदान गर्नुभएको हो ।

कार्यक्रममा नगर प्रमुख चालिसेले नगरपालिका क्षेत्रभित्र योगको विकास र अपनत्वका लागि नगरपालिकाले योग समिति गठन गर्ने तयारी गरेको जानकारी दिनुभयो । नगरपालिकाका ९ वटै वडामा ज्येष्ठ नागरिक क्लब निर्माणका लागि प्रत्येक वडामा रु २० लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । नगर क्षेत्रभित्र उपयुक्त स्थानमा रु ५० लाखको लागतमा तत्काल योगहल निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

गोकर्णेश्वर महादेव मन्दिरदेखि उत्तरवाहिनीसम्मको क्षेत्रलाई उत्तरगया धामका रूपमा विकास गर्नेगरी कार्य प्रारम्भ भएको छ । वडा नं ५ का अध्यक्ष नारायणप्रसाद सुवेदी र वडा नं ६ का अध्यक्ष रमेश अर्यालले वडाभित्र सञ्चालित योग शिविरलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा योग शिक्षक अच्युत अर्याल, पतञ्जलि योग समिति काठमाडौँका अध्यक्ष सुरेन्द्र रिमाल र पतञ्जलि योग समिति गोकर्णेश्वर नगर संयोजक रामप्रसाद सञ्जेलले योगको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

स्थानीय जडीबुटी वितरण

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख एवं गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले तुलसी, गुर्जो, निम, पत्थरचट्टालगायतका जडीबुटीको बिरुवा वितरण गर्नुभएको थियो ।

गुर्जो अभियानकर्मी राजलवटले जडीबुटीको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने र मानिसलाई स्वस्थ बनाउन सहयोग गर्ने भएकाले स्थानीय जडीबुटीको प्रवद्र्धनका लागि अभियान सञ्चालन गरेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !