८ बैशाख २०८१, शनिबार

भारतीय एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसे नेपाली युवा


तुइन

दार्चुला । व्यास गाउँपालिका-२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो । “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ” धामीले भने, “पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।”

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले दार्चुला जिल्लाको व्यास-३५ वर्षीय जयसिंह धामी महाकाली नदी तुइनबाट तर्दै गर्दा भारतीय सुरक्षा जवानले तुइन काटदा नदीमा खसेर बगेको समाचार स्तब्धकारी भएको भन्दै यस्तो क्रुर अमानवीय कार्यको छानबिनगरी भारतसंग वार्ता गरी दोषीलाई कारबाही गरी मृतकका परिवारलाई राहत प्रदान गर्न सरकारसँग माग समेत गरेका छन् ।

नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन र दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट सरकार समक्ष माग गरेका छन् । साथै उनले आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !