१३ बैशाख २०८१, बिहिबार

विषाक्त मदिरा प्रकरण : घटनाको छानबिन गर्न अुनसन्धान समिति गठन


विषाक्त मदिरा

बलेवा । विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ ।

बागलुङमा सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चारजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन् ।

उनीहरुको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । त्यस्तै उनीहरुसँगै मदिरा खाएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक हवारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरीले जनाएको छ । बागलुङमा पहिलोपटक चारजनाको विषाक्त रक्सी सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले बताए ।

“सात दिनको समय दिएर डिएसपी सापको नेतृत्वमा टोली पठाएको छु”, उनले भने, “अहिलेसम्म दुईजना पक्राउ परेका छन्, मजदूरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडाहरुसमेत बरामद गरेका छौँ ।”

पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयवासी भक्तबहादुर बलाल रहेका छन् । उनीहरुसँग अहिले सोधपुछ चलिरहेको र शवपरीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !