१२ बैशाख २०८१, बुधबार

जन्मथलोमै उपेक्षित भानुभक्त


भानुभक्त आचार्य जन्मजयन्ती

दमौली । आज असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मयजन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु जयन्तीको दिन देशभित्र तथा देशबाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् ।

तर आफ्नै जन्मथलोमा भानुभक्त उपेक्षित छन् । भानु जयन्तीको अवसरमा उहाँको जन्मथलोमा खास विशेष कार्यक्रम हुँदैन । सामान्य कार्यक्रम गरेरै भानुजयन्ती मनाइँदै आएको छ । विगत वर्षदेखि त भानु जन्मस्थल विकास समिति नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकोमा स्थानीयवासी खुशी छैनन् । भानुजयन्तीको दिन औपचारिकता निभाउने बाहेक यस ठाउँमा अन्य कुनै कार्यक्रम आयोजना भएका छैनन् ।

भानुभक्तको जन्मगाउँ अहिले संरक्षणको पर्खाइमा छ । सरकारले भानु जन्मस्थलको विकासका लागि विसं २०५२ मा भानु जन्मस्थल विकास समिति गठन गरे पनि सरकार परिवर्तनसँगै समितिको नेतृत्व पनि परिवर्तन नहुँदा देखिनेगरी काम हुन नसकेको स्थानीयवासी रिदम आचार्यले बताउनुभयो । नजिकैको तीर्थ हेला भने झै भानुभक्तको जन्मथलो उपेक्षामा परेको उहाँको गुनासो छ । “अहिले त अझ जन्मस्थल समितिविहीन अवस्थामा पुगेको छ, देश तथा विदेशमा भानुभक्तको चर्चा छ, तर आफ्नै जन्मथलोमा उपेक्षा बाहेक अरु केही छैन”, उहाँले भन्नुभयो ।

साहित्यिक पर्यटकीय विकासको सम्भावना बोकेको भानुभक्तको जन्मस्थललाई राजनीतिबाट टाढा राख्न सक्नुपर्ने स्थानीयवासी एवं भानु जन्मस्थल विकास समितिका पूर्व अध्यक्ष श्रीभक्त आचार्यले बताउनुभयो ।

“एउटा सरकार हुँदा गरेको निर्णय अर्को सरकार आएपछि प्रभावित हुन्छ, त्यही कारण आजसम्म यस ठाउँको विकास हुन सकेको छैन”, उहाँले भन्नुभयो । भानु जन्मस्थल विकास समितिका पूर्व कार्यकारी निर्देशक शङ्कर रानाभाटले गत वर्षदेखि जन्मस्थल विकास समितिलाई कुनै पनि बजेट विनियोजन नभएको जानकारी दिनुभयो ।

“पहिला सङ्घीय सरकार मातहत रहेको जन्मस्थल गत वर्षदेखि स्थानीय सरकार मातहत राखियो, त्यसभन्दा अगाडि आउने बजेट पनि कर्मचारीलाई तलब खुवाउन मात्रै ठिक्क हुन्थ्यो, अहिले त झन् बजेट नै छैन,” उहाँले भन्नुभयो । उहाँले शुरुमा जति महत्वका साथ समिति गठन गरिएको थियो सरकारले चासो नदिएपछि समितिले काम गर्न नसकेको बताउनुभयो । “बजेट अभावले नै केही काम गर्न सकिएन, आएको थोरै बजेट कर्मचारीको तलब भत्तामै सकिन्छ, कर्मचारीले तलबबापतको रु ४५ लाख अझै पाएका छैनन्”, उहाँले भन्नुभयो ।

घर निर्माणले गति लिएन

भानु नगरपालिका–४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माण नहुँदा बेवारिसे अवस्थामा पुगेको छ । पश्चिमाञ्चल विकास मञ्चले भानु गृहको पुनःनिर्माणका लागि शिलान्याससमेत गरेको थियो । विसं २०७३ चैत २२ गते ‘भानु शिखर कटेरी’ को तत्कालीन मुख्य सचिव डा सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले शिलान्यास गर्नुभएको थियो ।

भानृ गृह करीब रु ६८ लाखको लागतमा निर्माण हुने भनिए पनि निर्माण कार्य शुरु नभएको भानु जन्मस्थल विकास समितिका पूर्व कार्यकारी निर्देशक रानाभाटले बताउनुभयो । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा आदिकवि भानुभक्त नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर पुनःनिर्माण गरिएको थियो ।

जङ्गलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो । साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्न र उक्त ठाउँलाई भानुग्राम बनाउने उद्देश्यले मञ्चले गुरुयोजनासमेत बनाएको थियो । गुरुयोजना अनुसार भानुभक्तको घर दुई तलाको हुनेछ । १० रोपनी क्षेत्रफलमा फैलिएको जग्ग्गाभित्र भानुभक्तको घरसहित पोखरी, फूलबारी, होमस्टे, धर्मशाला, सङ्ग्रहालय, भ्युटावर, चौतारीलगायतका पूर्वाधार निर्माण गर्ने लक्ष्य छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !