८ बैशाख २०८१, शनिबार

करेन्ट लागेर विद्युत प्राधिकरण बिर्तामोडका कर्मचारी भट्टराईको मृत्यु


कुल बहादुर भट्टराई

झापा । झापाको बिर्तामोड नगरपालिकामा करेन्ट लागेर विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-४ स्थित जात्रुबाडी बस्ने ६१ बर्षीय कुलबहादुर भट्टराई रहनुभएको छ ।

अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी भट्टराईको बुधबार बिहान साढे ७ बजे बिर्तामोड-८ बाह्रबिघे स्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्ने क्रममा करेन्ट लागेको थियो ।

मिटर जोड्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भुइँमा लड्नु भएको थियो । भुइँमा टाउको बजारिँदा उहाँ गम्भीर घाइते हुनु भएको थियो ।

थप उपचारको लागि बिर्तामोडको बीएण्डसी मेडिकल कलेजमा पुर्याएको आधा घण्टापछि उहाँको मृत्यु भएको बिर्तामोड नगरपालिका वडा-८ का वडा अध्यक्ष अजय कार्कीले बताउनु भएको छ ।

मृतकको लाशलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाइएको उनले जानकारी दिए । घटना सम्बन्धि इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कुल बहादुर भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !