७ बैशाख २०८१, शुक्रबार

सडकमा समस्या


सडक

रसुवा । यस्तै निरन्तरको भारी वर्षाले रसुवा तथा नुवाकोटको तिरतिरे भिर खण्डका राजमागर्मा अवरोध हुने गरेको छ । रसुवाको मूलखर्क, ब्रावलभिर, धुञ्चेको त्रिशूली खोला, भार्खुडिल, सानोभार्खु, स्याफ्रुको भोटेकोशी पुल नजीक याङयाङ खोला क्षेत्र, लिङलिङ, कलाङकुलुङ, तातोपानी लगायतका क्षेत्र बढी जोखिम भएकाले पानी परेको बेला सवारी साधन गुडाउँदा पूर्वसावधानी अपनाउन चालक दलका सदस्यलाई आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

हिमाली क्षेत्र गहिरो खोँचमा सडक मार्ग भएका कारण सुरक्षित स्थानमा मात्र पार्किङ गर्न सवारी चालकलाई आग्रह गरिएको छ ।

ठूलोपानी आउँनासाथ स्याफ्रु–रसुवागढी खण्डको १६ किलोमिटर र स्याफ्रुबेँसीको भोटेकोशी नजीक याङयाङ खोला आसपास क्षेत्रमा भने बढी समस्या आउने गरेका कारण सडक सतहमा आउने हिलो र अवरुद्व भएका स्थानमा डोजरको सहायताले अवरोध हटाई सवारी साधन पार गराउने गरिएको बताइन्छ ।

रसुवाको मौसम प्रतिकूल ः कार्गाे उडान भर्न एक हप्ता

हिमाली क्षेत्रमा मौसम प्रतिकूल भएका कारण हप्ता दिनको प्रयासपछि सोमबार लाङ्टाङमा हेलिकप्टर पुगेको छ ।

सोमबार मध्याह्न मौसममा केही क्षण सुधार आएसँगै फिस्टेल एयरको हेलिकप्टरले सामान बोकी काठमाडौँबाट लाङ्टाङका लागि एक उडान भरेको हो ।

वर्षाको समय असहज पैदलमार्ग, मोटरबाटोको पहुँच नपुगेको, लाङ्टाङ क्षेत्रमा पुग्न भौगोलिक कठिनाइले गर्दा अत्यावश्यक घरेलुलगायत निर्माण सामग्री हेलिकप्टरमार्फत लानुपर्ने बाध्यता भएको लाङ्टाङका तेम्वा लामाले बताउनुभयो ।

फिस्टेल एयरका उडान व्यवस्थापकद्वय कृष्ण देउजा र शाक्केन शाक्यकाअनुसार त्रिशूली नदी र लाङ्टाङ खोला आसपासका क्षेत्रमा केही बेर कुहिरो हटेको मौका छोपी आफूहरू कार्यरत कम्पनीका पाइलट क्याप्टेन किरण पुनले उडान भर्ने कार्य सफल पार्नुभएको हो ।

हेलिकप्टरबाट लाङ्टाङ एवं गोसाइँकुण्ड जाने पर्यटक तथा धार्मिक यात्रुसमेत प्रतिकूल मौसमले प्रभावित भएका छन् । वर्षातको समय हवाई मार्गमा कुहिरो बस्ने र स्थलमार्गका सडकमा पहिराले अवरोध गर्ने समस्या रसुवामा रहेको र स्थानीय अस्पतालमा उपचार हुन नसकी काठमाडौँ लान थप कठिनाइ पर्दै आएको अनुभव स्थानीय बासिन्दाको छ । यही असार १२ गतेदेखि सक्रिय रूपमा हुस्सुको प्रभाव बढेको छ । आज बिहान क्षणिक समय केही सुधार भए पनि पुनः प्रतिकूल बन्दै गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !