८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न सिडिओहरुको बैठक बस्दै


जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न सिडिओहरुको बैठक आज बिहान ९ बजे बस्दैछ । उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ ।

हिजो आइतबार निषेधाज्ञाबारे निर्णय गर्न नसकेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज सोमबार बस्ने बैठकले निर्णय गर्न लागेको हो । हिजो सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने कि केही दिन पर्खने भन्नेमा छलफल भएतापनि टुंगो लाग्न सकेन ।

हिजो आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला र भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराईले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरेका छन् ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको जोखिमको समिक्षा गर्दै निषेधाज्ञा खुकुलो बनाउन लागेको हो । जस अनुसार सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा खुलाउने तयारी गरिएको हो ।

अहिलेकै मोडालिटीमा जाने वा अर्को मोडल अपनाउने भन्नेबारे हिजो छलफल भएको छ । सार्वजनिक यातायात खुलाउने सम्बन्धमा पनि उनीहरुले छलफल गरेका छन् । उपत्यकामा जारी गरिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

हिजो सार्वजनिक सवारी साधनलाई सीमा तोकेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको छ । यसरी सीमा तोक्दा साना सवारी साधनभन्दा ठूला र दूरी कायम हुन सक्ने सवारी साधन सञ्चालन हुन सक्नेछन् ।

उपत्यकामा थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय गर्न लगिएको हो । उपत्यकामा वैशाख १६ गतेबाट घोषणा गरिएको निषेधाज्ञा असार ८ बाट लागु हुनेगरी थप खुकुलो बनाउँदै लगिएको छ ।

श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर-विजोर प्रणालीमा चल्न दिइरहेको छ । उपत्यकामा बारको आधारमा पसल खुल्ला गरिएको छ ।

व्‍यवसायीले सार्वजनिक यातायात समेत चल्‍न दिनु पर्ने माग गरे पनि प्रशासन त्यस विषयमा निष्कर्षमा पुगिसकेको छैन। स्वास्थ्य मन्त्रालयले पनि अहिल्यै सार्वजनिक यातायात खोल्नु घातक हुने बताएको छ । व्यवसाय पनि बार अनुसार चलाउन दिइएको छैन।

सरकारले सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । तर सरकारले विद्यालयहरु भने तत्काल खुल्ला नगरी अझै बन्द गराउने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !