१२ बैशाख २०८१, बुधबार

प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्च अदालतको पूर्ण बैठक


चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलि शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले शुक्रबारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएको जानकारी दिए ।

उनका अनुसार शुक्रबारको बैठक गत जेठ १३ गते नै तय भएको थियो । विविध विषयमा संवैधानिक इजलास गठन लगायतका विषयमा समेत छलफल हुन सक्ने ढकालले बताए ।

सर्वोच्चले संवैधानिक इजलास र बन्दी प्रत्यक्षीकरण बाहेकका सेवामा संकुचन गरेको र ‘भर्चुअल’ रूपमा बहस सुन्ने व्यवस्थासँगै अरु सेवा बिस्तार गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

सर्वोच्च स्रोतका अनुसार बैठकले कोभिड-१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसी तारेख लगायतका काम कारबाही जेठ २१ गतेसम्मका लागि गरेको संकुचन फुकाउने वा जारी राख्ने विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा हेर्न गठित संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि रोकिएको अवस्थामा बोलाइएको पूर्ण बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ । प्रधानन्यायाधीश जबराले २३ जेठमा अर्को संवैधानिक इजलास गठन गर्ने बताएका छन् ।

सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरूले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने कानुनी व्यवस्था गर्न प्रधानन्यायाधीश जबरासँग माग गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !