८ बैशाख २०८१, शनिबार

घरेलु उपचारको सहारामा बिरामी


सुदूरपश्चिम, २६ वैशाख । कोरोना भाइरस सङ्क्रमण जस्तो लक्षण देखिएपछि ‘होम आइसोलेशन’को एकान्तवासमा रहेका धनगढीका एक कार्यालय प्रमुखले घरमै उपचारको मौलिक विधि अपनाउँदा उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

एक्कासि ज्वरो, रुघाखोकी, शरीर दुख्ने लक्षण देखिएपछि नमूना परीक्षण नगराई उहाँले एकान्तवासमा नियमित रुपमा ज्वानो, बेसार र कागतीको रस मिसाएको तातोपानी, पौष्टिक खानेकुरा र झोलपदार्थ खाइरहनुभएको छ ।

“एक हप्ताभन्दा बढी समयदेखि होम आइसोलेशनमा छु, घरपरिवारका सदस्यबाहेक अरू कसैलाई जानकारी गराएको छैन”, टेलिफोनमार्फत उहाँले अनुभव सुनाउनुभयो, “घरमै मौलिक उपचारको विधि अपनाउँदा स्वास्थ्यमा सुधार हुँदै गएको अनुभव भएको छ ।”

छ दिनदेखि होम आइसोलेशनमा रहनुभएका अर्का स्थानीय एकजना अदुवा, कागती, ज्वानो, ल्वाङ, बेसार, घोलिएको तातो पानी नियमित रुपमा खाइरहनुभएको छ । उहाँले पनि आफ्नो नमूना परीक्षण गराउनुभएको छैन । चौरासी वर्षीय उहाँले भन्नुभयो, “खोकी, ज्वरोको समस्याले चार दिन थला परे, अहिले आफ्नो स्वास्थ्यमा सुधार हुँदैछ, अरू बिरामीलाई पनि यस्तो पानी नियमित खुवाउँदा सञ्चो भइहाल्छ ।”

ज्वरो आउने, रुघाखोकी, शरीर दुख्ने जस्ता लक्षण देखिएका धेरै बिरामी यतिबेला होम आइसोलेशनमा बसेर नियमित रुपमा घरेलु उपचार विधि अपनाइरहनुभएको छ । यीमध्ये कतिपयले सामाजिक सञ्जालमार्फत आफू बिरामी भएको जानकारी गराइरहे पनि अन्य धेरै बिरामी कसैलाई जानकारी नगराई ‘होम आइसोलेशन’को एकान्तवासमा छन् । धेरैले आफ्नो आत्मबल बलियो बनाएर बसेको पनि पाइएको छ ।

कोरोना भाइरसको महामारीका बीच रुघाखोकी र ज्वरोले धेरै सर्वसाधारण थला परेर घरभित्रै बस्न थालेपछि शहर बजारका बस्तीमा चहलपहल घटेको छ । शहरको तुलनामा ग्रामीण बस्तीमा भने सर्वसाधारणको चहलपहल अझै घटेको छैन । कोरोनाको सङ्क्रमण रोकथामका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको समय लम्ब्याइएको छ ।

समुदायमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेका बेला परेका विवाह, पूजा जस्ता संस्कारका साइतमा बढेको मानिसको जमघटले पछिल्ला दिनमा कोरोनाको जस्तो लक्षण भएका जटिल प्रकृतिका बिरामी बढेको देखिएको छ । कोरोना भाइरस सङ्क्रमितले अस्पताल भरिभराउ भएका छन् ।

बिरामी बढ्दा उनीहरुको उपचार व्यवस्थापन असहज भइरहेको छ । अस्पतालमा पर्याप्त श्यया, भेन्टिलेटर, आइसियु र जटिल बिरामीलाई दिनुपर्ने अक्सिजनको अभाव भइरहेको छ । अहिले धेरै व्यक्ति ज्वरो, रुघाखोकी र खान मन नलाग्ने जस्ता समस्याले पीडित भइरहेका देखिएको धनगढीका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो ।

“वैशाख महिनामा नै कोरोना तीव्र रुपमा फैलिनु, यसै समयमा विवाहका लगन पर्दा समस्या देखिएको हुन सक्छ”, उहाँले भन्नुभयो, “यस्तो लक्षण भएकामध्ये धेरैमा कोरोनाको सङ्क्रमण नभई ‘संसारिक ज्वरो’ (मौसमी ज्वरो) हुनसक्छ ।”

स्थानीय प्रशासनले भीडभाड नगर्न÷नगराउन सूचना सार्वजनिक गरे पनि विवाह भोजभतेरमा भीडभाड रोकिएको थिएन । लक्षण देखिएका धेरै व्यक्ति नमूना परीक्षण गराउन पनि मानिरहेका देखिँदैनन् ।

स्थानीय अर्का बिरामीले भन्नुभयो, “नमूना परीक्षण गराउन अस्पताल पुग्दा ठूलो भीड देखिन्छ, एक मान्छेको नजीक अर्को मान्छे जान नहुने, गएमा रोग सर्ने जोखिम हुन्छ भनिएकाले भीडमा जान पनि मनले मान्दैन ।”

नमूना परीक्षण गराउँदा आउने पोजेटिभ नतिजाको खबरले सम्बन्धित व्यक्तिको मनोबल खस्किने भन्दै कतियले यस्ता बिरामीको नमूना परीक्षण गराउन जरुरी नभएको बताइरहेका पनि छन् । परीक्षण गराउने सहज वातावरण नहुँदा पनि इच्छुक कतिपयले आफ्नो नमूना परीक्षण गराउन सकिरहेका छैनन् ।

सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर पहाडी क्षेत्रका जिल्लाको तुलनामा उच्च छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !