काठमाडौँ, २४ वैशाख । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएको जानकारी दिनुभयो । “डाक्टर र औषधसहित निर्माण गरिएको आइसोलेशन केन्द्रमा आजैदेखि टोखाका कोरोना सङ्क्रमित बिरामीको उपचार हुनेछ”, उहाँले भन्नुभयो । बिरामीको अवस्था हेरेर उक्त स्वास्थ्य केन्द्रमा ५० श्ययाको आइसोलेशन केन्द्र निर्माण गरिने उपप्रमुख डङ्गोलको भनाइ छ ।
सो नगरपालिकाले नगर उपप्रमुख डङ्गोलको संयोजकत्वमा आइसोलेशन सेन्टर व्यवस्थापन तथा अनुगमन समिति निर्माण गरी कोभिडका बिरामीको उपचारका लागि सम्भावित स्थानको अध्ययन गरिरहेको छ । यस्तै नपाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र निर्माण गर्न लागेको छ ।
नगरपालिकाले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)सँगको सहकार्यमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेशन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
“अक्सिजन थेरापीसहित आइसोलेशन केन्द्र स्थापना भएसँगै अक्सिजनको मात्रा कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ”, उहाँले भन्नुभयो । राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र ८० श्ययाको हुने नगरपालिकाले जनाएको छ ।
उक्त नगरपालिकाभित्रका जनप्रतिनिधि तथा कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि यही वैशाख ३० गतेसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको छ । यस्तै सो नगरपालिकाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेका बिरामीको उपचारका लागि स्थानीय तहभित्रका निजी अस्पतालसँग सहकार्य गर्ने भएको छ ।
नपाले ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल तथा प्रसूति गृह गोङ्गबुसँग टोखाभित्रका सङ्क्रमित बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताउनुभयो । उत्तरमा नुवाकोटसँग सिमाना जोडिएको टोखामा ११ वडा रहेका छन् ।
उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने
नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका लागि उक्त गाडी प्रयोग गरिनेछ ।
नगर उपप्रमुख डङ्गोलले डाइलोसिस, डेलिभरीलगायतका अत्यावश्यक बिरामीलाई घरबाट अस्पताल लैजान तथा अस्पतालबाट घर ल्याउनका लागि आफ्नो गाडीको प्रयोग गरिने जानकारी दिनुभयो । “कोरोना महामारी र विपद्को समयमा जनताको सेवा गर्नु जनप्रतिनिधिको मुख्य धर्म हो, म आफू गाडी प्रयोग नगरी बिरामीको सेवाका लागि आजैदेखि दिन्छु”, उहाँले भन्नुभयो । (रासस)