७ बैशाख २०८१, शुक्रबार

पहाडमा २०० र शहरमा ५०० सक्रिय संक्रमित नाघे निषेधाज्ञा जारी गर्ने


कोभिड-१९ संकट व्यवस्थापन केन्द्र

काठमाडौँ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबारको बैठकले सक्रिय संक्रमितको संख्या अनुसार निषेधाज्ञा गर्ने जिम्मेवारी स्थानीय प्रशासन (डीसीसीएमसी) लाई दिने र कोरोना संक्रमण नियन्त्रण बाहिर जाने भएमा लकडाउनको निर्णय लिन सकिने पनि जनाएको छ ।

कोरोनाको संक्रमण तीव्र रूपमा बढ्दै गएकाले मुलुकभर लकडाउनको अवस्था आउन नदिनका निम्ति स्थानीय प्रशासनलाई निषेधाज्ञाको जिम्मेवारी दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा भने सक्रिय संक्रमित १००० जना नाघे निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ । सरकारी अधिकारीहरूले तत्काल पूर्ण लकडाउन गरिहाल्नुपर्ने स्थिति आइनसकेको ब्रिफिङ गरेको ती मन्त्रीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाहरु काठमाडौँ, ललितपुर, भक्तपुरका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । यस्तै कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३ र बर्दियामा २७९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !