६ बैशाख २०८१, बिहिबार

राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण


राष्ट्रपति विद्यादेवी भण्डारी

१४ पुस, काठमाडौँ l राष्ट्रपति विद्यादेवी भण्डारीले निकै लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ ।राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज प्रमाणीकरण गर्नुभएको उहाँको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपतिले प्रमाणीकरणअघि राजनीतिक नेतृत्वसँगै कानुनविदहरुसँग अध्यादेशका विविध पक्षमा छलफल गरेर अन्तिम निर्णयमा लिनुभएको हो । राष्ट्रपतिको भनाई उद्रृत गर्दै अधिकारीले भने ‘राजनीतिक दलबीचको विवाद मिलाउन प्रयास गर्दा पनि दलीय सहमति नभएपछि संवैधानिक दायराभित्र रहेर विधेयक प्रमाणीकरण गरेकी हुँ। राष्ट्रपतिको चाहना सबै राजनीतिक दलको सहमति होस् भन्ने भए पनि पछिल्लो राजनीतिक गत्यावरोधलाई अन्त्य गर्ने ध्येयले उक्त अध्यादेश प्रमाणीकरण गर्नुभएको प्रमुख स्वकीय सचिव अधिकारीको भनाइ छ ।

यसबीचमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति जुटाउन पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग संवाद गर्नुभएको थियो । एकल संक्रमणीय वा बहुमतीय निर्वाचन प्रणाली भन्ने विवादमा अध्यादेश करिव दुई महिनादेखि विचराधीन थियो। उक्त अध्यादेश सरकारले गत कात्तिक पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !