११ बैशाख २०८१, मंगलबार

कपुरकोटमा शीत भण्डार र विषादी परीक्षण प्रयोगशाला निर्माण


कपुरकोट

सल्यान, २ भदौ । सल्यानको कपुरकोटमा विषादी परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा कृषिउपज बजार केन्द्र कपुरकोटमार्फत कर्णालीको प्रवेशद्वार मानिएको कपुरकोटमा प्रयोगशाला निर्माण गरिएको हो ।

चालू आर्थिक वर्षभित्रै परीक्षणका लागि आवश्यक उपकरण तथा कर्मचारीको व्यवस्था गरी परीक्षण शुरु गरिने भएको छ । विषादी परीक्षण पछि कपुरकोट क्षेत्रबाट निर्यात हुने तथा आयात हुने तरकारीमा विषादीको परिमाण मापन गरिने छ । प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्नका लागि प्रयोगशाला निर्माण गरिएको प्रदेश सरकारका भूमि, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो । “अब कर्णालीका जिल्लामा आयात गरिने तथा कर्णालीबाट निर्यात गरिने सबै तरकारी तथा खाद्यान्नमा विषादी परीक्षण गरेर मात्रै प्रक्रिया अगाडि बढाइने छ”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने निर्णय भएअनुसार पहिलो चरणमा कपुरकोटमा विषादी परीक्षण प्रयोगशाला निर्माण गरिएको र यसलाई आवश्यकताका आधारमा अन्य ठाउँमा पनि विस्तार गरिने जनाइएको छ । “कर्णालीमा व्यावसायिकतालाई प्रवद्र्धन गर्नका लागि विषादी र रसायनिकमल प्रयोग गरिरहनु पर्दैन, यसको प्रयोगलाई सरकारले निरुत्साहित गरेको छ”, मन्त्री केसीले भन्नुभयो ।

यसैबीच कपुरकोटमै शीतभण्डारका लागि चालू आर्थिक वर्षमा काम अगाडि बढाइने भएको छ । यसका लागि प्रदेश सरकारले चालू आवमा रु ५० लाख विनियोजन गरिएको निर्माणका लागि काम शुरु गर्न कृषि विकास कार्यालय सल्यानलाई निर्देशन समेत दिइएको छ ।

सल्यान जिल्लामा बेमौसमी तरकारी तथा फलफूलको भण्डार रहेकाले यसलाई व्यवस्थित गर्नका लागि शीतभण्डार आवश्यक भएको जनाइएको छ । “सल्यानमा फलफूल र तरकारीको भण्डार रहेको छ, यहाँबाट निर्यात हुने सबै कृषिउपजलाई शीतभण्डारमा भण्डारण गरी बिक्री वितरण गर्नसके कृषकले थप मूल्य प्राप्त गर्नसक्ने भएकाले हामीले शीतभण्डार निर्माण गर्न लागेका हौँ”, मन्त्री केसीले भन्नुभयो ।

जिल्लामा पछिल्लो समयमा व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षण बढिरहेकाले सोहीअनुसार प्रदेश सरकारले प्रवद्र्धनका योजना ल्याउन लागेको केसीले उहाँले जानकारी दिनुभयो । “सल्यान जिल्लामा युवाले विभिन्न ठाउँमा एकल तथा सामूहिकरुपमा व्यावसायिक कृषि तथा पशुपालन गरिरहनुभएको छ, उहाँहरुलाई लक्षित गररे नै प्रदेश सरकारले ब्याज सहुलियत, अनुदानजस्ता कार्यक्रम सञ्चालन गर्न लागेको छ, यसबाट यहाँहरुले भरपुर फाइदा उठाएर आम्दानीमा वृद्धि गर्नुस्”, उहाँले भन्नुभयो ।

जिल्लामा पछिल्लो समय युवा व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षण हुनथालेका छन् । जिल्लामै बसेर व्यवसाय गर्दा राम्रो आम्दानी हुने तथा बजारीकरणका लागि समस्या नभएपछि जिल्लामा युवा अहिले व्यावसायीकरणमा अग्रसर हुन थालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !