७ बैशाख २०८१, शुक्रबार

ठगीको आरोपमा २ सय ७७ जना चिनियाँ नागरिक पक्राउ


china

मनिला, २७ भदौ । फिलिपिनी अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको प्रहरीको भनाई छ ।

अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरु मनिलास्थित चिनियाँ राजदूतावासको सूचनाका आधारमा पक्राउ परेको पनि मोरेन्टेले बताउनुभयो ।

चिनियाँ दूतावासका अनुसार पक्राउ परेका व्यक्तिहरुबाट चीनमा एक हजारभन्दा बढी व्यक्ति पीडित भएका छन् ।

मोरेन्टेले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा प्रारम्भमा छानबिनका लागि शंकास्पद चार जना चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिइएको उल्लेख छ । तर गैरकानुनी अनलाइन व्यवसाय सञ्चालन गरेको भेटिएपछि अरु २७३ जना पक्राउ परेको मोरेन्टेले बताउनुभयो ।

चिनियाँ अधिकारीहरुका अनुसार चीनमा ठूलो मात्रामा ठगी धन्धामा संलग्न केही व्यक्तिले फिलिपिन्समा आश्रय लिएका छन् । उनीहरुको पासपोर्ट समेत चीनले रद्द गरेको बताइएको छ ।(रासस-एपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !