७ बैशाख २०८१, शुक्रबार

कृषकलाई हाते ट्र्याक्टर वितरण


hate-tactor

डोटी २९ जेठ । जिल्लाको जोरायल गाउँपालिकाले वडा नं २ मा रहेको जनचेतना कृषक समूहलाई खेत जोत्न हाते ट्र्याक्टर वितरण गरेको छ ।

कृषकलाई खेत जोत्नमा सजिलो होस भन्ने उद्देश्यका साथ गाउँपालिकाको रु चार लाख तीन हजारको अनुदानमा उक्त कृषक समूहलाई ट्रली जडान सहितका दुई वटा हाते ट्र्याक्टर वितरण गरिएको वडा सदस्य महेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय किसानलाई खेत जोत्न समस्या भएका कारणले अहिले हामीले जनचेतना कृषक समूहलाई दुई वटा हाते ट्र्याक्टर दिएका छौँ, बाँकी क्रमिक रुपमा अरुलाई पनि दिने योजना छ ।”

गाउँपालिकाले अनुदानमा हाते ट्र्याक्टर वितरण गरेपछि अहिले सो वडाका किसानलाई खेत जोत्नमा निकै सहुलियत भएको समूहका अध्यक्ष तुलाराम साउदले बताउनुभयो । तरकारी खेतीलगायत अन्य खेतीमा प्रविधिको प्रयोग गरी बढी उत्पादन गर्न सहयोग पु¥याउने उद्देश्यले हाते ट्र्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

गाउँपालिकाको ७० प्रतिशत र कृषक समूहको ३० प्रतिशत लगानीमा ट्र्याक्टर वितरण गरिएको हो । हाते ट्र्याक्टर खरीदका लागि कृषक समूहले रु ८० हजार लगानी गरेको छ । उक्त समूहमा २५ जना सदस्य आबद्ध छन् । ट्र्याक्टर समूहका कृषकले आवश्यकताअनुसार समय मिलाएर प्रयोग गर्ने नियम रहेको उक्त समूहका कोषाध्यक्ष निर्मला विकले बताउनुभयो ।

यसअघि गाउँपालिकाले आफ्नो वडामा रहेका विभिन्न कृषक समूहलाई बाख्रापालन तथा घाँस वितरण र प्लाष्टिक घर वितरण गर्नुका साथै, थोपा सिँचाइ, ‘मलचिङ’ प्रविधिको तरकारी खेतीसम्बन्धी तालीमसमेत प्रदान गरिसकेको छ । गाउँपालिकालाई नमूना तथा हरियाली बनाउन विभिन्न ठाउमा वृक्षरोपण गरिनुका साथै सरसफाइका लागि डस्टबिनसमेत गाउँपालिकाले वितरण गर्ने योजना बनाएको बताइएको छ ।

रोपाइँको चटारो

जिल्लाका ग्रामीण क्षेत्रमा किसानमा रोपाइँको चटारो बढेको छ । समयमै पानी पर्न शुरु भएपछि सिँचाइ सुविधा नभएका स्थानमा समेत रोपाइँ शुरु भएको जोरायल गाउँपालिका–३ का कृषक दिनेश मल्लले बताउनुभयो । जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै जोतेर रोपाइँ गर्ने गरिन्छ भने आधुनिक कृषि यन्त्रको पनि प्रयोग बढ्दो क्रममा रहेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा कूल १० हजार ६६५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार गत वर्ष जिल्लामा २२ हजार ४४४ मेट्रिक टन धान फलेको र जसले २.१४ टनप्रति हेक्टर धान उत्पादनमा वृद्धि भएको थियो । यहाँका ग्रामीण क्षेत्रमा धान रोपाइँको चटारो भए पनि जिल्ला सदरमुकाममा भने पानी नपर्दा धानको बेर्नासमेत राख्न सकिएको छैन ।

जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लाका ग्रामीण क्षेत्रमा करीब ३० प्रतिशत रोपाइँ सकिएको छ । यहाँका किसानले पाखो जमीनमा उजगले नामको धान लगाउने गर्छन् भने अन्य पानी लाग्ने जमीनमा जोरायले बासमती, धनरास, हन्सराज, खुमलचार, ठेसे, थापाचिनी, मार्सि लगायतका धान लगाउने गरेको कृषक दीपकबहादुर थापाले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !