८ बैशाख २०८१, शनिबार

राष्ट्रपति भण्डारीबाट कुमारी इन्द्रजात्राका अवसरमा शुभकामना व्यक्त


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्व, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सो पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।

सन्देशमा उनले काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता मौलिक सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको पनि उल्लेख गरेकी छन् ।

राष्ट्रपतिको सन्देशमा कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै अमूल्य ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छासमेत व्यक्त गरिएको छ ।

यो पर्व देवराज इन्द्रको पूजाअर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने प्रचलन रहेको छ । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्र जात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ । पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि सहकालका देवता इन्द्रप्रति कृज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !