१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीबाट २६२१औँ महावीर जयन्तीको शुभकामना व्यक्त


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवर्तक महावीरको २६२१औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

महावीरले जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्नसके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम हुनका साथै दिगो शान्ति र अहिंसा प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास शुभकामना सन्देशमा भनिएको छ ।

समाजमा विद्यमान अन्धविश्वास, विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं प्रगतिशील समाज निर्माण गर्न महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास लिइएको छ ।

सम्पूर्ण मानव जातिको कल्याणका लागि शान्तिको बाटो देखाउनुहुने महावीरको जन्मजयन्ती हरेक वर्षको चैत शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रम गरी उत्साहपूर्वक मनाउने गरिन्छ ।

महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग-सत्य, अहिंसा, ब्रह्मचर्य, अचौर्य र अपरिग्रहका सिद्धान्त प्रतिपादन गरे र स्वयंले यी सिद्धान्तको पालनासमेत गरे । उनले अहिंसा र संयमको उत्कृष्ट साधना गरे । यसरी महावीरको जीवनमा अभिव्यक्त विचार र व्यवहारको सङ्गमले मानवजीवनलाई सदैव मार्गदर्शन गरिरहन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !