४ बैशाख २०८१, मंगलबार

महिलाको सर्वाङ्गीण विकासमा सबैको ध्यान जानुपर्छ : उपराष्ट्रपति पुन


उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज सन्देश दिँदै उनले आजको दिनले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने अपेक्षा गरे ।

महिला राजनीतिक, सामाजिक तथा आर्थिकरूपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव नभएको उल्लेख गर्दै उपराष्ट्रपतिले महिलाको हक-अधिकारका लागि सबै लाग्नुपर्ने बताए । उपराष्ट्रपतिले महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

संविधानले प्रत्येक महिलालाई लैंगिक भेद्भावविना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको बताउँदै उनले जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्नेमा जोड दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !