११ बैशाख २०८१, मंगलबार

माघे संक्रान्ति सांस्कृतिक उत्तम उदाहरण : सभामुख सापकोटा


अग्निप्रसाद सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले माघी-माघे सङ्क्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उत्तम उदाहरण भएको बताएका छन् । उनले भनेका छन्, “विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यता हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वहरूले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।”

सभामुखले २०७८ सालको माघी/माघे सङ्क्रान्ति पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको सङ्क्रमण बढ्ने क्रममा रहेकाले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनुहुन अपिल गरेका छन् ।

थारु समुदायले यस पर्वलाई ‘माघी’का रूपमा मनाउँछन् । थारुको यो नयाँ बर्ष आरम्भ पनि हो । मगर समुदाय लगायतले यस पर्वलाई माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) का रूपमा मनाउने गर्दछन् । एकै दिन एउटै पर्वलाई भिन्नभिन्न भेग र समुदायमा फरक ढङ्गले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्व रहेको छ ।

यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुल लगायत विभिन्न परिकार खाने दिनका रूपमा पनि लिइन्छ । सभामुखले यस पर्वले आपसी सद्भाव, आत्मीयता र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !