८ बैशाख २०८१, शनिबार

वास्तुशास्त्रअनुसार यस्तो रहेको छ दिशाको महत्व


Direction

वास्तुशास्त्रमा सबैभन्दा महत्वपूर्ण मानिने पाँच तत्वहरू जल, वायु, अग्नी, धर्ती, आकाश मिलेर सारा ब्रह्माण्ड बनेको हुन्छ । यसलाई ‘पञ्चभूत’ पनि भनिन्छ । मानवलगायत अन्य जीवित प्राणीहरू पनि यहि पाँच तत्वको समन्वयबाट बनेको हुन्छ। त्यसैले त प्राणी र प्रकृतिको सम्बन्ध यति प्रगाढ हुन्छ ।

पृथ्वीको कुनै निश्चित दिशा र निश्चित वस्तु वा कुनै व्यक्तिको एउटा विशेष किसिमको अन्तरक्रिया हुने गर्दछ र यहि अन्तरक्रियाको बारेमा बुझ्नकै लागि यी पाँच तत्वहरूको बारेमा थाहा पाउनु जरुरी हुन्छ।

पञ्चभूत लगायत वास्तुशास्त्रमा दिशा पनि एक महत्वपूर्ण तथा आधारभूत कुरा हो । घर तथा भवन अथवा कुनै निर्माण कार्य गर्दा कुन दिशामा कुन वस्तु राख्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन आउँछ, यहि कारण हो हरेकलाई यस्तो बारेमा ज्ञान हुनुपर्ने ।

वास्तुशास्त्रमा ८ दिशा र त्यसका विशेषताहरू यसप्रकार छन् :

पूर्व

पूर्वबाट सूर्य उदाउँछ, अर्थात नयाँ प्रहरको आरम्भ हुन्छ। त्यसैले पुरानो र खराब कुरालाई छाडेर नयाँ र असल कुरालाई पछ्याउन चाहने व्यक्तिहरूको लागि पूर्व दिशा उत्तम हुन्छ । संवृद्धताको दिशा हो पूर्वदिशा ।

घरका निम्न भागहरू पूर्व दिशातर्फ फर्किएको हुनुपर्दछ :

  • घरको मूल द्वार, बस्ने कोठा, पढ्ने कोठा तथा पूजा-आजा गर्ने कोठा पूर्व दिशातर्फ फर्किएको हुनुपर्दछ ।
  • धन-सम्पत्तीको दराज, बाकस, आदिको मूख पूर्व दिशातर्फ खुल्ने गरी राखेको हुनपर्छ ।
  • भाञ्छा तथा चर्पी कहिल्यै पनि पूर्व दिशामा फर्किएको हुनुहुँदैन ।
  • पूर्व दिशामा भएका घरका भागहरू कहिल्यै पनि पश्चिम, दक्षिण-पश्चिम तथा उत्तर-पश्चिम दिशामा भएका भागहरूभन्दा माथिल्लो (उच्च) स्थानमा हुनुहुँदैन ।

पश्चिम

वास्तुशास्त्रमा पश्चिम दिशालाई सबैभन्दा टिठलाग्दो दिशाको रूपमा मानिन्छ, मतलब यसले राम्रो भन्दा बढि नराम्रो कुराको सङ्केत गर्दछ । त्यसैले घरको पश्चिम भागमा बस्ने तथा घरको मूलद्वार पश्चिमपट्टी भएका मानिसहरूको जीवनमा कहिल्यै पनि सुख, शान्ति तथा संवृद्धि छाउन सक्दैन । केहि गरी सुखको आश पलाउन लाग्ने बित्तीकै फेरि दुखको पिँजडामा थुनिनुपर्ने हुन्छ, डुब्न लागेको पहेँलो घाम जस्तै ।

पश्चिम दिशाको बारेमा ध्यान दिनुपर्ने कुराहरू यसप्रकार रहेका छन् :

  • घरको पश्चिमपट्टि भागमा मूलद्वार होइन, बरु भर्याङ अथवा घरपछाडिको द्वार राख्नु उचित हुन्छ ।
  • चर्पी, फोहोर फाल्ने ठाउँ अनि गोबरग्याँसलाई पश्चिमपट्टी राख्नु उत्तम हुन्छ ।

उत्तर

उत्तर दिशा भनेको व्यापार-व्यवसाय तथा पेसाको लागि उत्तम दिशा हो । त्यसैले जो व्यक्तिले नयाँ व्यवसाय गर्न चाहन्छ, नयाँ कार्यालय खोल्न चाहन्छ, उसको लागि उत्तर दिशातर्फको कोठा अथवा कार्यालय उत्तम रहन्छ । विज्ञानबाट पनि के थाहा पाइएको छ भन्दा सूर्यबाट आउने हानिकारक विकिरणहरूको असर उत्तर दिशातर्फ कम पर्दछ । त्यसैले घरको आँगन अथवा खुल्ला ठाउँ उत्तरतर्फ बनाउनु सबैभन्दा उत्तम हुन्छ । साथै उत्तर दिशालाई धार्मिक तवरले पवित्र पनि मानिन्छ ।

उत्तर दिशासँग सम्बन्धित निम्न कुराहरूमा विशेष ख्याल राख्नुपर्दछ :

  • उच्चतम सफलताको लागि कार्यालय कक्षलाई घर वा भवनको उत्तरतर्फ राख्नु उचित हुन्छ ।
  • घरको उत्तर दिशातर्फ निर्माण कार्यलाई अलि कमै गर्दा ठीक हुन्छ । यदि तपाईँको घरको उत्तरतर्फ सदावहार निर्माण कार्य भैरहन्छ भन्ने जान्नुहोस् कि तपाईँको जीवनमा संवृद्धि छाउन सक्दैन ।
  • भाञ्छा, चर्पी तथा फोहोर फाल्ने ठाउँ उत्तरतर्फ राख्दै नराख्नुहोस् ।
  • घरको भर्याङ पश्चिमतर्फ राख्नु उचित हुन्छ, उत्तर तर्फ भर्याङ राख्दा त्यसले जीवनमा आर्थिक गिरावटको सङ्केत गर्दछ ।
  • सुत्ने कोठा घरको उत्तरतर्फ नलगाउनुहोस् र सुत्दा पनि उत्तरतर्फ टाउको राखेर नसुत्नुहोस् ।

दक्षिण

वास्तुशास्त्रीहरू दक्षिण दिशालाई अक्सर विवादास्पद तरिकाले हेर्ने गर्छन् । वास्तुशास्त्र मान्नेहरू पनि दक्षिण दिशा देखि डराउने गर्छन् । किनभने यो दिशा र मानवजातिको बीचमा समन्वय छ वा छैन भन्ने कुराको अझसम्म ठेट उत्तर पत्ता लाग्न सकेको छैन । उदाहरणकै लागि, मानौँ कसैले दक्षिण तर्फ मूल द्वार राखेर घर निर्माण गर्यो । निर्माणको केहि वर्षसम्म त उसको जीवनमा सफलताले बास गरिरहन्छ, तर केहि वर्षपश्चात उसको सफलता विफलतातर्फ गिर्दै जान्छ । त्यसैले वास्तुशास्त्रीहरू के सल्लाह दिन्छन् भने दक्षिण दिशालाई पालैपालो गरी प्रयोग गर्नुपर्छ ।

दक्षिण दिशाको बारेमा जान्नुपर्ने कुराहरू :

  • घरको अन्य दिशाका भागहरूलाई भन्दा दक्षिण भागलाई अग्लो बनाउनुपर्दछ ।
  • घरको छतमा राख्ने पानीको ट्याङ्की दक्षिणतर्फ राख्नु उचित हुन्छ ।
  • भाञ्छाकक्ष तथा भोजनकक्ष दक्षिण दिशामा राख्नु अशुभ मानिन्छ ।
  • घरको भर्याङ दक्षिण तर्फ राख्दा पनि कुनै फरक पर्दैन ।

उत्तर-पूर्व

उत्तर-पूर्व दिशालाई भगवानको दिशा मानिन्छ । आठै दिशाहरूमध्ये यो दिशालाई सबैभन्दा पवित्र मानिन्छ र यो दिशाको सहि सदुपयोगले पुरुष तथा महिलाहरूको जीवनमा सुख, शान्ति र संवृद्धि छाउने वास्तुशास्त्रको मान्यता छ । त्यसैले घरको उत्तर-पूर्व दिशामा खुल्ला ठाउँ अथवा चउर बनाउनु सबैभन्दा उत्तम हुन्छ ।

यस दिशाको बारेमा जान्नुपर्ने कुराहरू :

  • घरको उत्तर-पूर्व दिशा अन्य दिशा भन्दा हलुका होचो स्थानमा रहेको शुभ मानिन्छ ।
  • पूजा गर्ने कोठा यो दिशामा राख्नु सबैभन्दा फलदायी हुन्छ ।

उत्तर-पश्चिम

परिवारका सदस्यहरूबीच पारस्परिक सम्बन्ध बिगार्ने अथवा सुधार्ने काम यसै दिशाले गर्दछ । व्यक्तिको प्रेमसम्बन्धमा पनि उत्तर-पश्चिम दिशाले प्रत्यक्ष प्रभाव पार्दछ । त्यसैले नवविवाहित दम्पत्तीको कोठा उत्तर-पश्चिम दिशामा राख्दा त्यस दम्पत्तीको जीवनमा कहिल्यै पनि शान्ति छाउन सक्दैन ।

यस दिशाको बारेमा जान्नुपर्ने कुराहरू :

  • भाञ्छाकक्ष, भोजनकक्ष, सुत्ने कोठालाई यो दिशामा नराखेकै राम्रो ।
  • घरको निर्माण गर्दा उत्तर-पश्चिमदिशाबाट कहिल्यै पनि निर्माण सुरु गर्नुहुँदैन ।
  • यदि घरको जमीनमुनि पानीको ट्याङ्की छ भने त्यसलाई पनि यो दिशामा नराख्नुहोला ।

दक्षिण-पूर्व

तर्कसङ्गत र कारणसङ्गत सिद्धान्तलाई मान्ने व्यक्तिहरूको लागि दक्षिण-पुर्व दिशा उत्तम मानिन्छ ।

यस दिशाको बारेमा निम्न कुराहरू जान्नु आवश्यक हुन्छ:

  • भाञ्छा कोठालाई यो दिशामा राख्नु सबैभन्दा उत्तम हुन्छ ।
  • विद्युतीय सामग्रीहरू जस्तै; टिभी, मोटर, ब्याट्री, इनभर्टर, आदिलाई घरको दक्षिण-पूर्वी कोठामा राख्नु उत्तम हुन्छ ।
  • चर्पी तथा पानी ट्याङ्की यस दिशामा राख्दै नराख्नुहोला ।

दक्षिण-पश्चिम

उत्तर-पूर्व दिशा देवगणहरूको दिशा हो भने त्यसको ठीक उल्टो दक्षिण-पश्चिम दिशा राक्षसगणहरूको दिशा हो । त्यसैले व्यापार, व्यवसाय तथा आर्थिक क्षेत्र, जहाँ जटिल निर्णय लिनुपर्ने हुन्छ, त्यस्ता क्षेत्रमा यो दिशाको प्रयोग गर्नुहुँदैन ।

यस दिशाको बारेमा जान्नुपर्ने कुराहरू :

  • यदि तान्त्रिक शास्त्रको पाठ गर्नुहुन्छ भने त्यसको कोठालाई दक्षिण-पश्चिम दिशामा राख्नु उत्तम हुन्छ ।
  • भगवानको पूजाकक्ष यस दिशामा नराख्नुहोला ।
  • सुत्दा टाउको पनि यो दिशामा नफर्काउनुहोला ।
  • घरको दक्षिण-पश्चिम दिशाको कोठालाई भाडामा दिनु उत्तम हुन्छ ।

वास्तुशास्त्रमा जान्नुपर्ने सबैभन्दा मूख्य तथा आधारभूत कुराहरू यहि नै हुन् । यी सामान्य तर महत्वपूर्ण कुराहरूलाई ध्यानमा राखेर दैनिक काम गर्दा पक्कै पनि तपाईँको जीवनमा सकारात्मक ऊर्जाले पछ्याउनेछ । किनभने वास्तुशास्त्र अन्धविश्वास होइन, यो पनि विज्ञानकै एक अंश हो, जसले प्राकृतिक र भौतिक ऊर्जाको सम्बन्धलाई बुझाउँदछ ।

यो पनि पढ्नुहोस् :

हिँड्दा आखिर किन हल्लिन्छ त हाम्रो हात ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !