६ बैशाख २०८१, बिहिबार

जीवन के हो ?


life
ram magr
राम मगर

कतिपयले जीवनलाई एउटा संघर्षको गोरेटो मानेका छन् भने कतिले जीवनलाई मोजमस्तीको रुपमा लिएका छन् । हो वास्तवमा भन्ने हो भने जीवन भनेको आआफ्नो तरिकाले कसरी जीवन यापन गर्नेमा भर पर्छ । कतिको जीवन सुखमय हुन्छ भने कतिको दु:खमय हुन्छ । मलाई लाग्छ जीवन भनेको एउटा फुलिरहेको फुल जस्तै हो । जसरी फुल फुलीरहँदा त्यसको बासना मिठो हुन्छ । त्यस्तैगरी जीवनको पनि त्यतिकै महत्व हुन्छ ।

जसरी कुनै फुल फुलिरहदा फुलको सुवास आउनुका साथै पातहरु पनि हरियो देखिन्छ । भनिन्छ नि हुने बिरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात । मानिसको जीवन पनि त्यस्तै हो । जसको जीवन राम्ररी सुखमय बितेको छ । उनीहरु सानैदेखि नै मिहिनेती, लगनशीलताका साथ अघि बढेका हुन्छन् । उनीहरुले एक दिन सफलता अवस्य पनि प्राप्त गर्दछन् । जीवन भनेको दुख सुखको एउटा यात्रा हो । जसरी फुल फुली रहेको बेलामा फूललाई हावा हुण्डरीले हल्लाउने गर्दछ र कुनै समयमा त्यो फुल हावाकै कारणले पनि झर्न सक्छ । जीवन पनि त्यस्तै हो । एकदिन मर्नैपर्छ एकदिन सबैले संसार छोड्नैपर्छ । चाहे छिटो होस् या ढिलो ।

जब मानिस यो धर्तीमा जन्मिन्छ तब देखि जीवनको यात्रा शुरु हुन्छ । जसरी आमाले आफ्नो छोराछोरीलाई लाखौ समस्या झेल्दै हुर्काएकी हुन्छिन त्यसरीनै मानिसले पनि आफ्नो जीवनमा लाखौ समस्याहरु झेल्दै जीवन यापन गरिरहेको हुन्छ । मानिसले जीवन पनि विभिन्न तरिकाले जीई रहेका हुन्छन् । कसैको जीवन सुखमय हुन्छ भने कसैको दु:खमय हुन्छ । कति मानिसहरुले रातदिन पसिना बगाएर पनि बिहान बेलुका छाक टार्नलाई समस्या हुन्छ भने कसैले कुनै दुख नगरी पनि जीवन यापन गरिरहेका हुन्छन् । वास्तविक यो हो कि जसले जसरी जीवनयापन गरिरहेको हुन्छ । आ-आफ्नो लागि त्यहि उचित भएको हुन्छ ।

जीवनमा जो कसैले पनि सपना देखेको हुन्छ । यो गर्ने, त्यो गर्ने, यो बन्ने जस्ता सपनाहरु देखेका हुन्छन् तर कतिको सपना पुरा हुन्छ भने कतिको सपना अधुरो नै रहन्छ । भनिन्छ, सपना नदेख्ने मानिसले कुनै लक्ष चुम्न सक्दैन तर पनि कतिले देख्दादेख्दै पनि पुरा गर्न सक्दैनन् । जीवनमा यस्ता कति कुराहरु हुन्छन् । जुन गर्न चाँहादा चाँहादै पनि पुरा गर्न सकिरहेको हुदैन । मानिसको जीवनमा अनेकौं खालका समस्याहरु देखा परिरहेको हुन्छन् । कतिले जीवन मृत्यु सँग लडिरहेका हुन्छन् । कतिले चाहेर पनि यो संसार देख्न पाइरहेका छैनन् भने कतिले सबै कुरावाट पूर्ण भएपनि जिउने ठाउँ पाइरहेका हुदैनन् ।

जस्तैः सडकको पेटीमा जीवन जिउनेहरूलाई हेर्ने हो भने धेरै बालबालिकाहरु सडकको पेटीमा जीवन जिउन बाध्य भएका छन् । कतिले खान, लाउन, सुत्न ठाउँ पाइरहेका छैनन् । त्यही सडक नै उनीहरुको लागि घर हो र पनि हाम्रो सरकारले कुनै ध्यान दिएको देखिदैन । त्यसैले उनीहरुको जीवन पनि जीवन नै हो । उनीहरुले पनि सडकमा सुतेर सडकलाई नै घर बनाएर जीवनयापन गरिरहेका छन् । त्यसैले जीवन भनको जसले जसरी यापन गरेको छ त्यहि नै जीवन हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !