७ बैशाख २०८१, शुक्रबार

राष्ट्रबादी भनेर कुराले मात्र कोहि राष्ट्रबादी हुदैन – प्रमुख सचेतक श्रेष्ठ


राष्ट्रबादी भनेर कुराले मात्र कोहि राष्ट्रबादी हुदैन - प्रमुख सचेतक श्रेष्ठ

भाद्र १७, २०७४, काठमाडौ । चिनकाजी श्रेष्ठ नेपाली काँग्रेसको संसदीय दलको प्रमुख सचेतक हुनुहुन्छ । श्रेष्ठ पार्टीको एउटा सिनियर नेता हुनुहुन्छ । २०२७ सालदेखि नेविसंघ लागेर २०४४-४५ सालमा पंचायतकालमा जिल्लाको कांग्रेसको सभापति हुनु भएको थियो । २०४८ सालमा नै नेपाली काँग्रेसको सचेतक हुनु भएका श्रेष्ठ २०४८ सालमा नै राज्यमन्त्री पनि हुनु भएको थियो । उहाँका अनुसार राष्ट्रबादी भनेर कुराले मात्र कोहि राष्ट्रबादी नहुने र  नेपालले चीन र भारतसंग समदूरी सम्वन्ध राख्नुपर्ने कुरा बताउनुहुन्छ  । व्यवस्थापिका संसदमा संविधानको दोस्रो संशोधन विधेयक अस्वीकृत, बाढी, डुबान, प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण र  नेपाली काँग्रेसका भावी रणनीतिहरुको सम्बन्धमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी  ।

१. तपाईं राम्रो सम्भावना बोकेको नेता हुनुहुन्छ । सांसद र प्रमुख सचेतक हुँदा अवसरहरु र चुनौतीहरुमा के कस्ता फरक हुदोरहेछ त ?

हैन तपाईले प्रमुख सचेतक, सांसद हुने भनेको अवसर ठान्नु भएको भए यो चाहिँ धेरै अप्ठेरो काम हो । यो त कसैले नलिने पद हो के । सबै माननीय सदस्यहरुले जस नदिने हाम्रो संसदमा म त २०७ जना सांसद सबैले सबै बिषयमा बोल्न पाउदैनन । अब चाहिँ त्यसमा काटछाट गर्नुपर्छ । अनि त्यसले गर्दा सांसदहरूको विचारलाई चिढयाउने काम मात्रै हो । यो पदमा कोहि बस्न चाहदैनन् । बडो अप्ठेरो काम बिहानदेखि बेलुकासम्म खट्नपर्छ । हरेक घटनामा दलीय धारणाहरु राख्दा कहिँ कतै समितिमा विवाद भयो भने पनि त्यहाँ काम गर्नुपर्ने हुन्छ । कसैले पनि लिन नचाहने यो पद हो । त्यसकारण यो अवसर भन्नाले अवसर पनि होइन । तर पार्टीको लागि काम गर्ने मौकाको थलो हो र कार्यकर्ताहरुलाई अलिकति काम देखाउने ठाउँ पनि हो । दु:ख गरेर चाहिँ पार्टीलाई सहयोग गरेर बचाउने ठाउँ पनि हो । त्यसले गर्दा खेरी अवसरलाई अब चुनौतिको रुपमा लिन सकिछ र सामना गरेर अगाडी बढ्ने कुरा हो ।

२. व्यवस्थापिका संसदमा संविधानको दोस्रो संशोधन विधेयक अस्वीकृत भएको छ ?  यसमा नेपाली काग्रेसको आधिकारीक धारणा के छ ?

अब अस्वीकृत त भयो नै । यो दुई तिहाई बहुमत चाहिन्छ सरकार चलाउनु जस्तो हैन । अब यसमा चाहिँ सरकार गठबन्धनको अब दुई तिहाई बहुमत छैन । अब त्यसमा राप्रपाले सहयोग गरेन । त्यसपछि आएर अरु दलहरुले पनि सहयोग गरेनन् । संख्या पुगेन असफल भयो । अब सरकारले ल्याएको संबिधान संसोधनको प्रस्ताबले मधेसवादी दलहरुलाई चुनावमा भाग लिनेसम्म बनाएको छ । केहि हद सम्म राम्रो छ । हाम्रा कुरा यसमा समेटिएको छ । यसमा पनि सरकारले ल्याएको विधेयक पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा लगायत अरु दलले पनि अझ हामीले अर्को परिमार्जन हामीले गरेका थियौ । संबिधान संसोधन माथिको अर्को संसोधन पनि हामीले राखेका थियौ । अलि सुधारेर अझ त्यसलाई संसोधन गरौ भन्ने हेतुले । अब राम्रो कुराहरु पनि थिए । अब यसैलाई चित्त बुझाएर हामी चुनाबमा जानुपर्छ भनेर मधेसवादी दलहरुले धेरै चाहिँ तपाईहरुले सक्दो प्रयास गर्नुस, प्रयास गर्दा भएन भने हामी चित्त बुझाउला भन्ने उहाँहरुको माग थियो । माग बमोजिम हामीले संबिधान संसोधन पास हुने सम्भावना भने हामीले एकदमै न्यून देखेका थियौ । देखेकै हो नदेखेको त हैन भएपनि त्यै पनि अन्तिम अवस्थासम्म एमाले पनि जिम्मेवार भएर सहयोग गर्ला भन्ने हामीले सोचेका थियौ । अब हामीले सरकारले पेस गरेको विधेयक खराब त थिएन । राप्रपा पनि आफैले राखेको संसोधन हेर्नुस न कमल थापाज्यूको नेतृत्वको राप्रपाका प्रमुख सचेतक कुन्ती कुमारी शाहीले त संसोधनको समर्थनमा अर्को संसोधन हामीले मिलेर हालेका थियौ । उहाँहरुले नैतिकताको आधारमा त्यो संसोधनलाई सहयोग गर्नपर्थ्यो । अब उहाँहरुको पार्टीको झगडाले गर्दा पार्टी भित्रको चाहिँ उनीहरुको समीकरणको कारणले गर्दा उहाँहरुले संसोधन प्रस्ताबमा सहयोग गर्नु भएन । उहाँहरुले सहयोग गर्ने बचन प्रतिबद्धता भएको भए अरु नेपाल कम्युनिष्ट पार्टी माले, संयुक्त जनमोर्चा लगायत चाहिँ अरु साना दलहरुले सहयोग गर्ने अवस्थामा थियो । अरुसंग ५-७ वटा पार्टीका १०-१२ जनाले सहयोग गरेको भए र ३७ जनाको यो राप्रपाले सहयोग गरेको भए त  यो संसोधन प्रस्ताब त पास हुन्थ्यो नि । उहाँहरु अलिकति अब राष्ट्रिय समस्यालाई त कसैले पनि यसलाई सहयोग गर्नुपर्छ भन्नेतिर लागेनन् । उहाँहरुबाट राष्ट्रिय समस्याहरु जस्ताको त्यस्तै थाती राख्ने अलि अस्वाभाविक खालको निर्णय भयो ।

३. देशका विभिन्न भागहरुमा बाढी, पहिरो र डुबानबाट प्रभावित पिडित जनताको उद्धार र राहतमा नेपाली काग्रेस, यसको भातृ सगठन नेबि सघ तथा नेपाल तरुण दलले पनि तत्काल कुनै कार्यक्रम घोषणा गर्न सकेनन भन्ने आरोप छ नि ?

नेपाली कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्रीले त्यत्रो आह्वान गर्नुभएको छ । त्यत्रो पैसा चाहिँ पनि उठेको छ । प्रधानमन्त्री शेरबहादुर देउबा कै नेतृत्वमा राष्ट्रिय दैवी प्रकोप उद्धार समितिले काम गरेको छ । अब त्यसमा पार्टीले पनि आफ्नो स्तरमा पार्टी आफैले निर्देशन दिएको छ । स्थानीय स्तरमा नेबिसंघ, तरुणदल, महिला संघ लगायतका अरु संस्थाहरु पार्टीका कार्यकर्ताहरुले त्यो बाढी-पहिरोमा प्रभावित जनताहरुलाई उद्धार गर्ने, राहत पुर्याउने काममा लागेकै छन् । तर यहाँ त बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भने जस्तै हल्ला मात्रै गर्नेको चाहिँ चर्चा धेरै हुन्छ, काम हुदैन । हामी चाहिँ हल्ला गर्दैनौ काम मात्र गर्छौ । नेपाली कांग्रेसको सिद्धान्त भनेको काम गर्ने हो । सक्ने कामलाई गर्छौ भन्छौ र हामीले बोलेपछि गर्छौ । अनि सकेसम्म हामी बोल्दै बोल्दैनौ । नपुग्ने कुरा हामी बोल्दै बोल्दैनौ । त्यसकारण चाहिँ हामी सत्य, जायज कुरा मात्रै बोल्छौ । नचाहिने किसिमका हल्ला पिटाउने, बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल पनि नबिक्ने भने झैँ जुन एउटा उखान छ । हामी चाहिँ त्यो पिठो बिकाउनको लागि धेरै बोल्दैनौ । हामी चाहिँ चामल नै बिकाउछौ । कुरा त्यस्तो हो ।

४. बाढी डुवान प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी ढंगले संचालन हुनसक्यो त ? नेपाली काग्रेसको यसमा धारणा के छ ?

प्रभाबकारी रुपमा चाहिँ भई रहेको छ नि त । अब पनि हुदैछ । अरु उद्धार भन्दा पनि उनीहरुलाई पुनस्थापना गर्ने अरु बाँकी रहेका समस्याहरुलाई सम्बोधन गर्ने काममा हामी एकदम प्रतिबद्ध भएर सरकारलाई दवाव दिएका छौ । पार्टीलाई पनि हामीले दवाव दिएका छौ । पार्टीले पनि जो सकेको उसले गरेकै छ । त्यसमा केहि कमी आउन दिएका छैनौ । कामहरु अगाडी बढिरहेको छ । क्रमिक रुपमा भइरहेको छ । एकैचोटी जादुको छडी जस्तो रुपमा त्यो देखिने कुरा पनि त्यो हैन । समस्या समाधान गर्न त गाह्रो हुन्छ नि त । त्यसकारण हामी प्रचारबादी, हल्लाबाजी, नाराबाजी गर्दैनौ । नेपाली काँग्रेस नाराबाजी गरेर जनतालाई भ्रम सिर्जना गर्ने पार्टी होइन ।

५. पार्टीमा कार्यबाहक सभापति बनाउने कुरामा पार्टीको बिधान बिपरीत बिमलेन्द्र निधीलाई बनाएर उपसभापति रामचन्द्र पौडेललाई नबनाएको भन्ने पनि एउटा पौडेल पक्षको बिरोध आयो भन्ने कुरा पनि मेडियामा आएको थियो । यो कुरालाई कसरी भन्नु हुन्छ ।

तपाईले पनि अब विवाद यस्तो आयो उस्तो आयो भन्ने कुरा तपाईले ल्याउनु भयो । यस्तो कुरामा तपाईले धेरै चर्चा परिचर्चा गर्ने कुरा पनि हैन यो । हाम्रो पार्टी अब सल्लाह गरेर, मिलेर मिलाएर लैजाने पार्टी हो । अब विधानमा चै प्रष्ट रुपमा बरिष्ट नेतालाई दिने भन्नि त छैन नि त । त्यो बेलामा गणेशमान सिंह बरिष्ट सर्बमान्य नेता हुनुहुन्थ्यो कृष्ण प्रसाद भट्टराईले त कार्यबाहक चलाउन जिम्मा अरुलाई दिनु हुन्थ्यो नि त । अब अहिले पनि महामन्त्री नै हुन्छ, महामन्त्रीको आफ्नो कार्यालयको दायित्व छुट्टै हुन्छ । शिर्षनेताको काम छुट्टै हो । अब सभापतिले पत्याएको मान्छे सभापती नहुदा सभापतिले भने बमोजिमको काम गर्ने, आफ्नो विश्वाशको मान्छेलाई कार्यबाहक दिने नै हो नि त । सभापतिको अनुकुलतामा काम गर्ने मान्छेलाई सभापतिलाई ले जिम्मा दिने हो । अब कुरा एउटा गर्ने काम अर्को गर्नेलाई त दिनु भएन नि । सभापति त चलाउनुपर्यो नि त ।

६. प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको सम्बन्धमा सामाजिक सन्जालमा चर्को बिरोध छ नी ? यसलाई कसरी हेर्नुहुन्छ ?

समुच्चमा तपाईले बुझ्नु भएको छ नि त । टेलिभिजन हेर्नु भएको छ नि, पत्रपत्रिका हेर्नु भएको छ । अब समग्रमा चाहिँ शेरबहादुर देउबा प्रधानमन्त्रीको भ्रमण राम्रो   र सफल भयो । उहाँले परराष्ट्र नीतिमा चाहिँ बडो सन्तुलित ढंगबाट बोल्नुभयो । अब चिन पनि हाम्रो छिमेकी मित्रराष्ट्र हो । हामी चिनसँग हामी सम्बन्ध बिगार्न चाहदैनौ । भारतसँग पनि हामी बिगार्न चाहदैनौ किनकि चिन र भारत दुवै उत्तिकै महत्वपूर्ण देश हुन् । हाम्रा लागि चाहिँ दुईवटा मुलुकले नै उत्तिकै सहयोग गरेका छन् । नेपालको मामलामा उनीहरुले कुनै पनि किसिमको सहन नसकिने काम गरेको छैन । हामीले दुईवटा शक्तिलाई नै लिएर हिड्नुपर्छ । समदुरीको हिसाबले हामीले व्यवहार गर्ने हो । हामीले चाहिँ एउटा मुलुकलाई रिजाएर अर्को मुलुकलाई गाली गरेर हिड्नु पनि हुदैन । हाम्रो नेपालको भू-बनावट र भू-राजनीतक हिसाबले त्यसले हामीलाई फाइदा पुर्याउदैन । जस्तो कि एमालेले चाहिँ साच्चिकै भन्ने हो भने भारतलाई मनपरी सडकमा गाली गर्ने तर चीनलाई चाहिँ बढी समर्थन गरे जस्तो गर्ने देखिन्छ । हाम्रो चिन चाहिँ एकदम नजिकको मित्र भन्ने भारत चाहिँ एकदम शत्रु जस्तै मान्ने । हाम्रो चाहिँ भू-राजनीतिक हिसाबले हामीलाई कसरी फाइदा हुन्छ ? हामीले त आर्थिक राजनीति गर्नुपर्यो, हाम्रो देशको समृद्धिको लागि हामीले राजनीति गर्नुपर्यो । हामीले अरुलाई गाली गरेर के फाइदा । राजनीतिमा कसैलाई पनि चिढयाउनु चाहिँ कुटनीतिक हिसाबले राम्रो मानिदैन । त्यसकारण एउटा ठुलो शक्तिको रुपमा अगाडी आईरहेका चीन र भारतसंग सहकार्य गरी फाईदा लिनु नै राम्रो हुन्छ  । त्यसकारण नेपालले सबै छिमेकी मुलुकसंग झगडा गरेर हामीले हाम्रो देशका जनतालाई हित हुने कुरा हामीले गर्न सक्दैनौ । त्यसकारण हामीले बराबरीको सिद्धान्त, बराबरी सम्बन्ध राखेर अगी बढ्नुपर्छ । कोहिलाई नजिक कोहीलाई टाढा बनाउन हुन्न । यो अपरिपक्व कच्चा खेलमा हामी लाग्नु हुदैन । राम्रै काम भईरहेको छ ।

७. पार्टीको एउटा सिनियर नेता भएर पनि पार्टीको नेतृत्वले हजुरको उचित मूल्यांकन गर्न नसकेको भन्ने कुरा आम नेपाली जनता र कार्यकर्तामा पनि यो विचार आएको छ नि ? यो कुरालाई कसरी लिनुहुन्छ ?

यो तपाइले विचार गर्ने तरिका हो । तपाईले कसरी हेरिरहनु भएको छ, अरुले कसरी हेरेका छन् । अब म मेरा कुरा त मैले के भनुम । अब म त हेर्नुस २७ सालबाट नेविसंघ लागेको मान्छे । म ४४-४५ सालमा पंचायतकालमा जिल्लाको कांग्रेसको सभापति भएको मान्छे । पंचायतकालमा सभापति हुने भनेको चानचुने कुरा होईन होला । २०४८ सालमा धेरै भोटले जितेर राज्यमन्त्री भएको थिए । २०५१ सालमा जितेको थिए । २०४८ साल गिरिजा प्रसाद कोइरालाको पालामा सचेतक भएको थिए । अहिले आएर मैले ४ बर्ष प्रमुख सचेतकको काम गरिसके । जसले चाहिँ यो काम लिन गाह्रो मान्छ । त्यसलाई कसैले लिन चाहदैनन् । सबै मन्त्री हुन चाहन्छन । प्रमुख सचेतकको कामको जिम्मेवारी चाहिँ एकदम चुनौतीलाई लिन कोहि चाहदैनन् । त्यस्तो पदमा बसेर मैले काम गरिरहेको छु । कुनै त्यस्तो चाहिँ मैले यो पद पाईन भनेर म रोएर कराएर पनि हिडेको छैन । मैले कसैलाई दिएनन् भनेर गाली गरेर हिडेको पनि छैन । त्यसकारण म पार्टीको एक इमान्दार सिपाईको नाताले पार्टीलाई सहयोग गरिरको छु । निष्ठापुर्बक काम गरिरहेको छु । मैले मेरो जिम्मेवारी मैले राम्रोसंग बहन गरको छु । अब त्यसको मूल्यांकन नेताहरुले गर्ने हो । नगरेकोमा पनि मलाई त्यस्तो ठुलो चित्त दुखाई छैन । अब तपाईहरुको कुरा अब बाहिर कसले के के भनेछन  चर्चा के के भएको छ, अब त्यो चाहिँ तपाईको कुरा हो । मैले यसमा चाहिँ केहि भन्नेवाला छैन ।

८. भरतपुर महानगरपालिका र नेपाल पत्रकार महासघको निर्वाचनमा जस्तै  आगामी असोज २ मा हुने २ नम्बर प्रदेशको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र यसरी नै मिलेर निर्वाचनमा तालमेल हुन्छ त  ?

मलाई त त्यति राम्ररी थाहा छैन । बाहिर-बाहिर त सुन्छु । अब सत्ता गठबन्धनमा रहेकाहरुले मिलेर जादा राम्रो हुन्छ भन्ने कुरा सुनेको छु । अब खै कस्तो होला के होला भविष्यमा देखिने कुरा हो । अब यसलाई हेर्ने नेताहरु अरु नै हुनुहुन्छ । मलाई थाहा नभएको कुरा धेरै भनेको राम्रो हैन ।

९. देशमा विभिन्न पार्टीका र ती सम्बद्ध नेताहरूको सिन्डिकेट छ, भ्रष्ट, झोले, बिचौलिया र दलालहरूको बिगबिगी छ । यस्तो विकृतिलाई चिर्न के गर्नुपर्ला ?

बिकृतिहरुलाई चिर्न के गर्नुपर्ला भन्दा नेतादेखि लिएर कार्यकर्ता सबै चाहिँ तम्सिनु पर्छ ।  सबैले यो बिकृति र विसंगतिलाई हटाउनको लागि । वास्तबमा भन्ने हो भने एउटा कुरा गर्ने नपाए अर्को कुरा गर्ने, गाली गरेर हिड्ने, बिरोध गर्ने, कैले यता कैले उता गरेर कुरा लाउने, बिगार्ने, काम चाहिँ गर्न हुन्न । अवसरबादी चरित्र देखाउनु हुन्न कसैले पनि नेतादेखि कार्यकर्तासम्म सबैले आ-आफ्नो पद अनुसारको आचरण गरेर पार्टीको एउटा उद्धेश्य परिपुर्ति गर्ने हिसाबले इमान्दारी ढंगबाट निष्पक्ष रुपमा काम गर्नुपर्छ । कसैले कसैलाई अनावश्यक रुपमा च्याप्ने । अब पार्टीलाई एउटा प्रणालीमा चलाउनुपर्यो । मेरो तेरो भन्नु भएन । तेरो घरभित्रको मान्छे, मेरो परिवारको मान्छे, नातावाद, कृपावाद गर्नुभएन । नेताहरुले अलिकति चाहिँ तपाइको निष्पक्ष मूल्यांकन गर्ने परिपाटीलाई मिलाएर लानुपर्छ । ब्यबस्थापन राम्रो गर्नुपर्छ । त्यसो भयो भने चाहिँ यो सबै कुरा बिकृति-विसंगति सबै स्वत: हट्छ ।

१०. २ नम्बर प्रदेशको निर्वाचन नेपाली कांग्रेसका भावी रणनीतिहरु के हुन ? अव पार्टी कसरी अघि बढ्छ ?

पार्टीले आफ्नो राम्रो उमेदवार चयन गर्छ । सबै तलदेखि माथिसम्मका प्रदेश भरिका सबै नेताको विभिन्न जिल्लाहरुमा समझदारी प्रभाब चाहिँ योग्य राम्रो जित्ने खालको उमेरदवारको चयन गर्नुपर्छ । यसरी चयन गरेपछि चुनाब जित्न सजिलो हुन्छ । कतिपय अवस्थामा काहिँकाहिँ कुनै ठाउमा स्थानीय नेताहरु साथीहरुले माओवादीसंग तालमेल गर्ला, काहिँ एमालेसंग पनि हुनसक्छ, कहिँ राप्रपासंग हुनसक्छ, कहिँ समाजवादीसंग, काहिँ राजपासंग । सबै आ-आफ्नै किसिमको स्तरमा कसको बिचमा सहमति गर्दा राम्रो हुन्छ त्यो सहमति गर्ने कुरा स्थानीय नेताहरुले गर्लान त त्यो हामीले यहाँबाट भन्ने कुरा हैन । अब अरु रणनीति कुरा मलाई थाहा छैन ।

११. अन्त्यमा, नेपालपत्र मार्फत आम नेपाली जनतालाई के शन्देश दिन चाहनुहुन्छ ?

नेपाली जनतालाई म के शन्देश दिन चाहन्छु भने नेपाली जनतालाई फेरि पनि दोहोर्याएर के भन्छु भने भाषण गरेर भाषणको भरमा पत्याउनु भएन । अब यहाँ त चर्का-चर्का नारा दिन्छन । भएको कुरा पनि भाषण गर्छन, नभएको कुरा पनि भाषण गर्छन । नराम्रा कुरा पनि फुलबुट्टा भरेर राम्रो बनाउछन विभिन्न पार्टीका नेताहरुले । त्यस्तो कुराको पछि लाग्नु भएन । जनताले पानीको पनि दुधको दुध छुट्टयाउनुपर्यो । जनता त अब धेरै पढ्ने लेख्ने बुझ्ने भईसकेका छन् । चेतनशील जनताले राम्रोसँग बुझेर धेरै कुराहरुलाई ध्यानमा राखेर मूल्यांकन गर्नुपर्यो । को नेता सहि हो, को नेता गलत हो, को नेता राष्ट्रबादी हो को अराष्ट्रबादी हो । अब भाषण गरेको भरमा यो अराष्ट्रबादी भनेर कोहि अराष्ट्रबादी हुदैन । राष्ट्रबादी हो भन्दैमा कोही राष्ट्रबादी हुदैन । जनताले राम्रोसँग छुट्याउनुपर्यो, मूल्यांकन गर्नुपर्यो भनेर म जनतालाई आह्वान गर्न चाहन्छु । जनतालाई बलियो बनाउदा त्यो अराष्ट्रबादी हुन्छ भने जनतलाई बलियो बनाउने काममा लाग्ने हामी चाहिँ अराष्ट्रबादी जनतालाई फुटाएर टुटाएर भ्रम सिर्जना गर्ने, मधेस र तराईलाई झगडा मच्याउने, हिमाल र पहाडलाई झगडा मच्याउने, अनि मधेसी जनताहरुलाई सधै गाली गर्ने, अनि त्यहाँ र यहाँको जनतालाई चिनाउने, मन मुटाब गर्ने, जनता जनताको बिचमा झगडा मच्याउनेलाई राष्ट्रबादी भन्छ त । राष्ट्रबादी भनेको त जनतालाई मिलाउने, एक बनाउने, एउटा मालामा उन्ने, पृथ्वीनारायण शाहले जस्तै सबैलाई एक सुत्रमा बाधेर एक हौ, चार जात छतीस वर्णको फुलबारी हो । जनताले बुझ्नुपर्यो, विश्लेषण गर्नुपर्यो । राम्रा कुरा गर्ने सहि कुरा गर्यो भन्नेलाई ठिक भन्नुपर्यो । फट्याई कुरा गर्नेहरुलाई बेठिक भन्नुपर्यो । चुनाबमा पनि त्यसरी नै जानुपर्यो । चुनाबमा सहि सत्य कुरा बोल्ने जनताको लागि राम्रो कुरा गर्नेलाई चाहिँ भोट हाल्न पर्यो । जनतालाई भ्रम सिर्जना गर्नेलाई भोट हाल्न भएन के जनताले । जनताले पनि दुधको दुध पानीको पानी छुट्याउनुपर्यो । कोहि नेता बेठिक छ भने उसलाई हटाउनुपर्यो । जनातालाई हटाउने अधिकार छ नि त । कोहि भ्रष्टचार, कोहि जनता समक्ष जिम्मेवार छैनन् भने तिनलाई हटाउनुपर्यो । जसले आफ्नो कर्तब्यपालन गर्छ, नचाहिने कुरा बोल्दैन, त्यसलाई त जिताउनाले देशले सहि बाटो र गति लिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !