६ बैशाख २०८१, बिहिबार

ईण्डियन, अमेरिकन र यूरोपियनहरु नै नेपालको राजनीतिमा मूख्य बिदेशी हस्तक्षेपकारी शक्तिहरु हुन् – राजनीतिक विश्लेषक दाहाल


भरत दाहाल

२०१८ सालमा दाङ जिल्ला तत्कालिन धर्ना गाविसको भमकी गाउँमा जन्मिएका भरत दाहाल स्वतन्त्र राजनीतिक विश्लेषक तथा लेखक पनि हुनुहुन्छ । २०३७ सालमा अनेरास्ववियू (छैठौं) बाँके जिल्ला मुखपत्रका रूपमा प्रकाशित ‘चित्कार’बाट लेखन यात्रा शुरू गर्नु भएका दाहालले  २०४० मा पृष्ठभूमी साप्ताहिकको प्रकाशनदेखि २०४९ सालसम्म पत्रकारिता पनि गर्नुभयो । पृष्ठभूमी साप्ताहिक, योजना साप्ताहिक, जनादेश साप्ताहिक, स्वस्तिक साप्ताहिक, यूगसन्देश साप्ताहिकहरु सम्पादकको रुपमा काम गरी सक्नु भएका दाहालले ३ दर्जन जति पत्रिकाहरुमा हालसम्म ३००० जति लेखरचना, पार्टी दस्तावेज, राजनीतिक प्रतिवेदन र कार्यपत्रहरु प्रकाशित छन् । उहाँ पहिले माओवादीमा हुनुहुन्थ्यो भने अहिले माओवादीका कटू आलोचक हुनुहुन्छ । राष्ट्रियताको विषयमा शंकास्पद भूमिका खेलेको महसुस गर्दै दाहालले २०५७ सालतिरै माओवादी परित्याग गर्नु भएको हो ।

उहाँ हाल राष्ट्रिय जागरण अभियान, नेपाल नामक अभियानका संयोजक पनि हुनुहुन्छ । २०६६ सालदेखि नेपालको नव औपनिवेशिकता र साम्राज्यवादको नेपाल बिखण्डनको रणनीतिका विरुद्धमा राष्ट्रिय प्रतिरोध संघर्ष संगठित गर्नका लागि क्रियाशिल हुनुभयो । अचेल राष्ट्रवादका एजेन्डाहरुमा बिभिन्न टेलिभिजनहरु, पत्रपत्रिकाहरु र सामाजिक सञ्जालमा तिखा साहसिक राजनीतिक बहसहरु, लेखहरू र धारणाहरु राख्दै आउनु भएको छ । उहाँले नेपालको संकटका कारण र यसको समाधानबारे ३ वटा आफना अवधारणाहरु पनि दिनु भएको छ । विश्व राजनीति घटना र सन्दर्भ, नेपाली राजनीति घटना र सन्दर्भ, बाम आन्दोलन तथा अन्य जुनसुकै समसामयिक विषयमा खरो टिप्पणी गर्ने दाहाल राजनीतिक विश्लेषक, चिन्तक तथा बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ । नेपालको वर्तमान अवस्थाका पछाडिको मूल कारण विदेशी साम्राज्यवादी शक्तिहरुको रणनीतिक स्वार्थ रहेको धारणा राख्दै आउनु भएका दाहालसँग नेपालको राजनीतिमा बिदेशी हस्तक्षेप भन्ने गहन विषयमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।

१. नेपालको अहिलेको अवस्थाको मूल कारण बाह्य शक्तिहरुको स्वार्थ हो भन्ने कुरा सत्य हो ?

नेपालको वर्तमान अवस्थाका पछाडिको मूल कारण विदेशी साम्राज्यवादी शक्तिहरुको राजनीतिक रणनीतिक स्वार्थ रहेको छ भन्ने कुरा शतप्रतिशत सत्य हो । नेपालको कमजोर एवं तरल भूराजनीतिलाई दुरुपयोग गरेर चीनसंग उल्झिंदै गएको शक्ति संघर्ष आफ्नो पक्षमा पार्ने ईण्डो-पश्चिमा रणनीतिको परिणाम नै नेपालको अहिलेको अवस्था हो ।

२. यो हस्तक्षेप कुन स्तरमा छ ?

नेपालमा भैरहेको विदेशी हस्तक्षेप आम स्तरमा छ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, मनोबैज्ञानिक एवं नैतिक सबै क्षेत्रमा ब्यापक रुपमा हस्तक्षेप भएको छ र यो हस्तक्षेपले संकटको रुप लिईसकेको छ । संकट भनेको नै राज्य व्यवस्थाको जग चर्मराएको अवस्था हो । यस्तो अवस्थामा नियम-कानून, मूल्य-मान्यता, रितिथितिले काम गर्न छोडिसकेका हुन्छन् र चौतर्फि अराजकता, स्वेच्छाचारिता एवं दण्डहिनताले राज गरिरहेको हुन्छ । अर्को अर्थमा भन्ने हो भने यस्तो अवस्था भनेको यथास्थितिको पतनको पूर्वबेला हो ।

३. नेपालमा विदेशी हस्तक्षेप कहिलेदेखि सुरु भएको जस्तो लाग्छ ?

मैले ठ्याक्के मिति त भन्न सक्दैन तर ईण्डियामा ब्रिटीशहरुले कब्जा जमाएपछि उनीहरुको आँखा नेपाल, तिब्बत र चीनमा परिसकेको थियो । त्यसबेला नेपालमा पृथ्वीनारायण शाहको नेतृत्वमा पुनः एकिकरणको अभियान चलिरहेको थियो । पृथ्वीनारायणको अभियानबाट ब्रिटिशहरु भयभित थिए । उनीहरुले पृथ्वीनारायणको शक्ति विस्तारलाई रोक्नका लागि जयप्रकाश मल्ललाई अगाडि बढाउन खोजेका थिए । त्यो भन्दा अगाडि नै अंग्रेजहरु ईसाइ धर्म प्रचारको बहानामा साम्राज्य विस्तारको उद्देश्य सहित काठमाडौंमा घुसिसकेका थिए ।

४. विदेशी हस्तक्षेपका पछाडि राजनीतिक कारणहरु बाहेक अरु कुन-कुन कारणहरु देखिन्छन् ?

कुनै एउटा कारणले मात्र देश संकटको अवस्थामा पुग्दैन । राजनीति भनेको समग्र व्यवस्था प्रणालिको मियो हो। त्यसैले हामीले बाहिरबाट हेर्दा राजनीतिक संकट जस्तो देखिन्छ तर यो आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक, मनोबैज्ञानिक, भाषिक, पारिवारीक, खानपान, रहनसहन सबै तहमा फैलिएको छ ।

५. नेपालमा हस्तक्षेप गर्ने प्रमूख विदेशी शक्तिहरु कुन कुन हुन् ?

ईण्डियन, अमेरिकन र यूरोपियनहरु नै नेपालको राजनीतिमा मूख्य बिदेशी हस्तक्षेपकारी शक्तिहरु हुन् । नेपालमा हस्तक्षेप गर्नुका पछाडि यिनीहरुका केहि साझा र केहि फरक खालका स्वार्थहरु रहेका छन् ।

६. विदेशी हस्तक्षेपका पछाडि बाह्य शक्तिहरुका स्वार्थहरु मात्र छन् वा नेपालभित्रै पनि यसका कारणहरु छन् ?

कतिपय मानिसहरुले स्रोत र कारणहरुलाई एउटै अर्थमा लिने गल्ती गर्दछन् । स्रोत भनेको मूल हो, कारण भनेको नेतृत्व हो । नेपालको हालको अवस्थाको स्रोत नेपालमैं छ र कतिपय अवस्थामा स्रोतहरुले नै कारणका रुपमा काम गरेका हुन्छन् तर स्रोतहरु सँधैभरी कारणका रुपमा रहेका हुँदैनन् । स्वाधिन समाजमा देखा पर्ने समस्याका कारणहरु प्रायसः भित्रै हुन्छन् । नेपाल जस्ता नव-औपनिवेशिक देशहरुमा घटनाका कारणहरु प्रायसः बाहिरै हुन्छन् । सम्वन्धित समाजको विकास प्रकृयालाई कसको कुन स्वार्थले नेतृत्व गरिरहेको हुन्छ भन्ने कुराले कारणको निर्धारण गर्दछ ।

७. विदेशी हस्तक्षेपको बढि दोष कसलाई दिने ?

कमजोर स्रोतहरुमा विदेशीहरुलाई खेल्ने वातावरण बनाई दिने यहाँका बिकाउ दलाल तत्वहरु नै नेपालको हालको अवस्थाका लागि सबैभन्दा बढि दोषी छन् । नेपालका विदेशी दलालहरुको निम्न चेतना, धनसम्पतिमा दरिद्रता, कुर्सिको लालच र देश तथा नागरिकहरुप्रति जिम्मेवारी बोधको अभावका कारणले, बजारिया मालका रुपमा, यिनीहरु विदेशीका हातमा सजिलैसंग किनबेच हुने गरेका छन् ।

८. नेपालमा हस्तक्षेप गर्ने बाह्य शक्तिहरुमध्ये कसको के कस्तो स्वार्थ रहेको छ ?

विश्वब्यापी रुपमा विस्तार हुँदै आएको चीनको आर्थिक, राजनीतिक एवं सांस्कृतिक प्रभावलाई रोक्नका लागि यसलाई छिन्नभिन्न पार्ने षडयन्त्र अमेरीका, यूरोपीयन र ईण्डियनहरुको साझा रणनीति हो। नेपालको भू-राजनीतिलाई आफ्नो स्वार्थमा प्रयोग गर्नका लागि यी साम्राज्यवादी शक्तिहरुले नेपाललाई असफल बनाएर हुन्छ वा विघटन गरेर हुन्छ, यहाँ आफ्नो सैन्य उपस्थिति कायम गर्न खोजेका छन् ।

यिनीहरुका बिचको फरक स्वार्थ के हो भने पश्चिमाहरुले नेपाली समाजको ईसाइकरण गरेर यहाँ आफ्नो सांस्कृतिक आधार बलियो बनाउन खोजिरहेका छन् भने ईण्डियनहरुले हिन्दूत्वको खोलमा आफ्नो आधिपत्य जमाई राख्ने, प्राकृतिक स्रोतहरु लुट्ने र विदेश नीति तथा सुरक्षा मामिला आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । जनसंख्या अतिक्रमण गरेर तराइलाई नेपालबाट अलग गर्ने षडयन्त्र ईण्डियनहरुको अर्को स्वार्थ हो ।

९. नेपालमा ईण्डियन र पश्चिमाहरुको हस्तक्षेप कहिलेबाट सुरु भयो ?

नेपालको पुनः एकिकरणको समयदेखि २००७ सालसम्म पश्चिमाहरुकै हस्तक्षेप मान्नुपर्छ । २००७ सालदेखि ईण्डियाको एकलौटी दबदबा जस्तै भयो तर कांग्रेस नेतृत्वको सरकारले २०४७ सालदेखि कथित नव-उदारवादका नाममा पश्चिमा लुट सिद्धान्तलाई स्थापित गरेपछि पश्चिमाहरुको हात बलियो हुँदै आयो । यद्यपि नेपाली समाज र राज्य प्रणालीलाई पश्चिमीकरण गर्ने आधारशिलाको काम २०२८ सालको नयाँ शिक्षा प्रणालीले गरिसकेको थियो ।

१०. पश्चिमा शक्तिहरुमध्ये सबैको स्वार्थ एउटै देख्नुहुन्छ ? (अमेरिका, पश्चिम यूरोप, स्केनडेभियन)

धार्मिक एवं सांस्कृतिक रुपान्तरणको विषय सबै पश्चिमाहरुको समान स्वार्थ हो । तिनीहरुका बिचमा चीनको विरोध पनि समान स्वार्थ हो र यसका लागि नेपालमा खेल्ने दुरासय पनि समान छ । तर राजनीतिक शक्ति विस्तार, बजार एवं नेपाल मार्फत् यस क्षेत्रका अन्य देशहरुमा पार्ने प्रभाव जस्ता विषयहरुमा यिनीहरुका बिचमा प्रतिस्पर्धा छ ।

११. चीन र रुसको कुनै हस्तक्षेपकारी भूमिका छैन ?

नेपालमा चीन र रुसको आजसम्मको भूमिका मैत्रीपूर्ण नै छ । पछिल्लो समयमा यी देशहरुका विरुद्धमा नेपालको भू–राजनीति दुरुपयोग गर्ने ईण्डो-पश्चिमा रणनीति उजागर भएपछि चीन र रुस पनि प्रतिरक्षाका लागि आक्रामक भएका छन् । यस्तो आक्रामकता नेपालमा हस्तक्षेप गर्ने उद्देश्यले नभएर नेपालको भू-राजनीति दुरुपयोग गरी तिनीहरुका विरुद्ध शुरु भएका गतिविधिहरुको प्रतिकार गर्ने उद्देश्यबाट अगाडि बढेको छ ।

१२. जापान, दक्षिण कोरीया र उत्तर कोरीयाको भूमिका कस्तो देख्नुहुन्छ ?

द्वि-पक्षिय आर्थिक सम्बन्धमा बाहेक, हस्तक्षेपका अर्थमा, तपाईंले उल्लेख गर्नु भएका देशहरुको स्वतन्त्र भूमिका मैले देख्दैन । यी देशहरुको राजनीतिक भूमिका चाहिं सिनो-रुसी र ईण्डो-पश्चिमा ध्रुवकै सहयोगीका रुपमा छ । जापान र दक्षिण कोरिया जस्ता देशहरु ईण्डो-पश्चिमा धुरस्का सहयोगी हुन् भने उत्तर कोरीया सिनो-रुसी धुरीको सहयोगी हो ।

१३. पृथ्वीनारायणको समयदेखि नै पश्चिमाहरु नेपाललाई अस्थिर बनाउने प्रयासमा लागेको भनिन्छ । यहाँको धारणा ?

निश्चित रुपमा । पृथ्वीनारायण शाहले काठमाडौंमा विजय हासिल गरेपछि अंग्रेजहरुले काठमाडौंबाट पाटन भागेका जयप्रकाश मल्ललाई उचालेर पृथ्वीनारायणसंग लड्ने रणनीति बनाएका थिए । यसका लागि ईसाइ धर्म प्रचारको आवरणमा आएका पादरीहरुले सुराकीका रुपमा काम गरिरहेका थिए । तिनै पादरीहरुको धन्धा बाहिर आएपछि पृथ्वीनारायणले तिनीहरुलाई काठमाडौंबाट निकालेका थिए । तर ब्रिटीशहरु नेपाललाई नियन्त्रण गर्ने योजनामा असफल भए ।

१४. यहाँका दल र नेताहरु जानी बुझिकन विदेशी खेलको पछि लाग्नुको कारण के होला ?

सबैभन्दा ठूलो कारण त निम्नस्तरको चेतना हो । जिम्मेवारिबोधको अभाव, क्षुद्र व्यक्तिगत स्वार्थको भावना, कुर्सी लिप्सा, नागरिक नैतिक पतन, नागरिक भावनाको अभाव जस्ता कुराहरुले पनि महत्वपूर्ण काम गरेका छन् ।

१५. विदेशी ऋण र अनुदानले नेपाललाई कमजोर बनाएको कुरा मान्नुहुन्छ ?

विदेशी ऋण र अनुदानले नेपाललाई कमजोर मात्र बनाएको छैन कि सार्वभौम अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा गरिसकेको छ । नेपाल प्रकृतिको विशिष्ट उपहार हो । प्राकृतिक श्रोतको कुरा गर्ने हो भने हामी कहाँ कुनै चिजको अभाव छैन । भएका स्रोतहरुको उचित ढंगले परिचालन भएको भए नेपाल विश्वको सम्पन्न देश भईसक्थ्यो । तर अपराधि दलाल शासकहरुले नेपाललाई विदेशी ऋण र अनुदानमा बाँच्नुपर्ने बनाएका छन् । ऋण र अनुदान हेरेर बाँच्नुपर्ने देश कहिल्यै विकसित बन्न सक्दैन ।

१६. विदेशी ऋण र अनुदान विना देशको विकास संभव छ ?

सम्भव भन्ने कुरा भिजन, योजना र व्यवस्थापनमा हुन्छ । विदेशी ऋण र अनुदान विना विकास सम्भव छैन भन्ने सिद्धान्त त सम्पत्तिशाली विदेशी लुटेराहरुले निर्यात् गरेको सिद्धान्त हो, जसभित्र कमजोर देशहरुका स्रोत साधनहरु लुट्ने र परनिर्भर बनाएर खेलाउने कुनियत मात्र लुकेको छ ।

१७. नेपालमा सक्रिय रहेका विदेशी एनजिओ/आईएनजिओहरुबारे यहाँको धारणा कस्तो छ ?

स्वाधिनता, समृद्धि र सामाजिक सद्भावका लागि विदेशी एनजिओ/आईएनजिओहरु सबैभन्दा ठूला बाधाहरु हुन् । दोश्रो विश्वयुद्धपछि सैन्य उपनिवेश राखिरहन संभव नभएपछि नव-औपनिवेशिताको निरन्तरताका लागि यस्ता संस्थाहरुलाई माध्यम बनाईएको छ । नेपालमा अहिले जे देखिएको छ, यसको मूख्य कारण नै एनजिओ/आईएनजिओहरु हुन् ।

१८. विदेशी हस्तक्षेप हटाउने उपाय के त ?

विदेशी हस्तक्षेपलाई हटाउने उपायहरु विभिन्न श्रेणिका हुन्छन् । यसको तात्कालिक उपाय भनेको कथित नव-उदारवाद र विदेशीहरुले ८ दलका नाममा गराएको १२ बुँदे समझदारीको डिजाईनका विरुद्धमा खडा हुने शक्तिहरुका बिचमा संयुक्त मोर्चा निर्माण गरेर अडि बढ्नु र दलाल सत्ताको अन्त्य गर्नु हो । वर्तमान संकटको स्थायी समाधान भनेको हाम्रो देशको मौलिकता, समाजको आवश्यकताका आधारमा आर्थिक, राजनीतिक लगायतका जीवन प्रणालिहरुको विकास गर्नु हो । यस्तो प्रणाली नयाँ भिजन र नेपालको आफ्नै खालको स्कूलिङबाट मात्र सम्भव छ । नेपालमा अब पुनर्जागरण आन्दोलनको आवश्यकता छ ।

१९. हाम्रा पाठकहरुलाई यहाँको केहि सन्देश छ ?

सन्देश भन्दा पनि मेरो अनुरोध के छ भने विदेशी साम्राज्यवादी शक्ति र तिनका दलालहरुको स्वार्थका कारणले नेपाल अहिले निकै गहिरो संकटमा फसाईएको छ । विश्वका सबै ठूला शक्ति राष्ट्रहरु यहाँ केन्द्रित भैसकेका छन् । हामीले संकटभित्रको विदेशी रणनीतिलाई समयमैं बुझेर संगठित हुन सकेनौं भने नेपालको नक्शा तलमाथि हुनसक्ने खतरा छ । यदि हामी समय छँदै संगठित हुन सक्यौं भने नेपालले आजसम्म झेल्नु परेका सबै समस्याहरुबाट मुक्त हुन सक्ने सम्भावना बढेर गएको छ । यस देशमा जन्मेको, हुर्केको सन्तान र यौटा नागरिकका नाताले हामीले निभाउनुपर्ने भूमिकाप्रति हामी ईमान्दार बन्नुपर्ने बेला आएको छ । यस्तो अप्ठारो बेलामा मातृभूमिको सम्झना हामीमा आएन भने हामी मनुष्यत्वबाट च्युत भएर पशुत्वमा झछौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !