दातृ निकायको सहयोग बिना पनि विश्वविद्यालयहरु संचालन हुन सक्छन् – प्रा. डा. कोइराला

प्रा. डा. खेम कोइराला 'बन्धु' का अनुसार नेपालमा अव शिक्षाको गुणस्तर बढाउन विदेशी दातृ निकायको सहयोग बन्द गर्नुपर्छ

४३ बर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नु भएका प्रा. डा. खेम कोइराला ‘बन्धु’ नेपाल वोर्ल्ड पिस डेभलोप्मेन्ट एसोसिएसन सेन्ट्रलको अध्यक्ष, नौलो नेपाल साप्ताहिक (२०२६) तथा नेपाल मेन्टल हेल्थ एसोसिएसन सेन्ट्रलको संस्थापक हुनुहुन्छ । यसका साथै लिटररी जोर्नालिस्ट कमिटि, नेपालको संस्थापक अध्यक्ष, नेपाल हर्ट फाउन्डेसन सेन्ट्रलको संस्थापक उपाध्यक्ष तथा कम्युनिष्ट म्युजियम सेन्ट्रल नेपालको महासचीव पनि हुनुहुन्छ । ताहाचल क्याम्पसको क्याम्पस प्रमुख, २ पटक त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षा विभागको प्रमुख र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्रको डीन हुनुभएका कोइराला सर्वोच्च अदालतको अधिबक्ता पनि हुनुहुन्छ ।

३ विषयमा पिएचडी गरेका प्राध्यापक कोइराला धेरै संघसंस्थाको सल्लाहकार, कन्सल्टेन्ट तथा मानव अधिकारकर्मी पनि हुनुहुन्छ । साहित्यकार, भाषाविद् समेत हुनु भएका प्राध्यापक कोइरालाका विविध विषयमा धेरै पुस्तकहरु प्रकाशित छन् । दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकारले पनि जनअपेक्षा अनुसार पटक्कै काम गर्न नसकेको कोइराला बताउनुहुन्छ । दातृ निकायको सहयोग बिना पनि हाम्रा विश्वविद्यालयहरु संचालन हुन सक्छन र नेपालमा अव शिक्षाको गुणस्तर बढाउन विदेशी दातृ निकायको सहयोग बन्द गर्नुपर्छ भन्ने धारणा राख्दै आउनु भएको छ । नेपाली राजनीति र शैक्षिक क्षेत्रमा भएका बिकृति र विसंगतिको बारेमा खरो टिप्पणी गर्ने कोइरालासँग नेपालमा शिक्षाको बर्तमान अवस्था र भविष्यको बारेमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।

१. सरले त लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुका साथै डीन भएर पनि काम गर्नुभयो । नेपालको वर्तमान शैक्षिक प्रणालीलाई तपाईले कसरी विश्लेषण गर्नुहुन्छ ?

नेपालको शिक्षा नीति वास्तवमा २०२९ सालदेखि नयाँ शिक्षा योजना आयो । नयाँ शिक्षा योजना आएपछि त्यसलाई एक ढंगले एकदमै वैज्ञानिक शिक्षा प्रणाली भनियो । अर्कोतर्फ के गरियो भने नयाँ शिक्षा योजना आएपछि विरोध पनि त्यतिकै भयो र समर्थन पनि भयो । नयाँ शिक्षा आएपछि सामुदायिक विद्यालयहरु खोल्ने क्रम घट्यो त्यसपछि विदेशी डोनरहरु आए । उनीहरुले आफ्नो पनि चाहना र स्वार्थ हेरेर शिक्षामा लगानी गर्न चाहे । त्यस वेलामा त्यस्तो भएको हुनाले गर्दा योगी नरहरिनाथले त एउटा आन्दोलन शुरु गरेका थिए की नेपालको संस्कृतिक, अध्यात्मिक र परम्पराहरुलाई समाप्त गर्न यो नयाँ शिक्षा ल्याइएको हो । शुरुमा हेर्दा नयाँ शिक्षा एकदमै राम्रो पनि देखिन्थ्यो । नयाँ शिक्षाको नाममा विश्वविद्यालयहरुको विभिन्न कार्यक्रमहरु पनि बढाएका हुन् । सेमिस्टार प्रणाली लागु हुने वेला भएको थियो तर त्यो नेपालको लागि असफल हुँदोरहेछ भनेर त्यसलाई विश्वविद्यालयले खारेज गर्दियो । यो २०३१ सालदेखि शुरु भयो र २०३५/३६ सालमा वन्द भयो । अहिले पनि विदेशी डोनरहरुको सहयोगमा सेमिस्टार प्रणाली लागु गरिएपनि विद्यार्थी संख्या दिनप्रतिदिन घट्दै गएको अवस्था छ । हाम्रो शैक्षिक प्रणालीमा हामी नेपालीले भने अनुसार बिदेशीले सहयोग गरे भने मात्र सहयोग लिनुपर्छ । सम्रगमा भन्नुपर्दा नेपालको वर्तमान शैक्षिक प्रणालीमा सोचे अनुसारको गुणस्तर कायम हुन नसकिरहेको अवस्था छ ।

२. पहिला असफल भई सकेको त्यो सेमिस्टार प्रणालीमा फेरि लागू किन गरेको होला ?

सेमिस्टार प्रणाली लागु हुनु आफैमा नराम्रो त होइन तर हाम्रो देशमा माटोमा सुहाउने विषयहरु समावेश गर्नुपर्छ । अहिले सेमिस्टार प्रणाली लागू गर्न कतिको उपयुक्त थियो भन्ने कुरा हेर्नुपर्थ्यो तर हामी फेरि यसरी अरुको लहिलहिमा लगेर गर्नु चाहि ठिक भएन । विदेशीको विश्वविद्यालयहरुको जस्तो सेमिस्टार प्रणाली लागू गर्दा त्यस अनुसारको शिक्षकहरु छन् की छैनन्, विद्यार्थीहरु त्यो अनुसार तयार छन् की छैनन् भन्ने अध्ययन गर्नुपर्थ्यो । साथै अभिभावकहरुको आर्थिक स्थिति कस्तो छ भन्ने कुराहरु नहेरिकन सेमिस्टार प्रणाली लागु गरियो त्यो सेमिस्टार प्रणाली लागु गरेपछि अहिले विद्यार्थीको संख्यामा घट्दो अवस्था छ भने अर्कोतिर शिक्षक त्यहि हो, मानसिकता त्यहि हो, विद्यार्थी त्यहि हो र शिक्षकलाई निश्चित रुपमा केहि गम्भीर बनाउन खोजेको जस्तो देखिन्छ तर शिक्षाको गुणस्तर निष्पक्ष मूल्यांकन गर्ने हो भने त्यसप्रति गुणस्तर बढेको छ भन्ने कुराहरु मूल्यांकन गर्नुपर्ने हुन्छ । मलाई लाग्छ त्यसरी निष्पक्ष मूल्यांकन गर्ने हो भने यो हुन सक्ने सम्भावना छैन । केहि निश्चित रुपमा आफ्नो स्वार्थ पुरा भयो होला । खासगरी विदेशीहरुले सेमिस्टार प्रणालीको लागि भनेर केहि महत्व दिएको देखिन्छ र अहिले २०२९ सालदेखि यता आएर विश्वविद्यालयहरु हेर्नुहुन्छ भने प्रोजेक्टहरु आएका छन्, विभिन्न कार्यक्रमहरु लागू गरेका छन् तर यी सारा कुराहरु हेर्दाखेरी यो त मालामाल कमाई खाने भाँडो भएको छ । विश्वविद्यालयमा पार्टीले टिका लगाएका मान्छेले नेतृत्व गरेर विश्वविद्यालय राजनीति गर्ने अखडा भएपछि नेपालका कुनै पनि विश्वविद्यालय पनि विश्वका एक हजार विश्वविद्यालयहरुको सुचीभित्र पर्ने कुरै भएन नी ।

३. नेपालको एउटा विश्वविद्यालय पनि विश्वका एक हजार विश्वविद्यालयहरुको सुचीभित्र नपर्नुको कारण के होला जस्तो लाग्छ यहाँलाई ? 

पहिला पहिला धेरै विद्वान् र इमान्दारीलाई उपकुलपति बनाईन्थ्यो त्यस्तै किसिमले क्याम्पस प्रमुखहरु नियुक्ति गरिन्थ्यो । तर अहिले कसको दलको कुन समुहको क्याम्पस प्रमुख बनाउने जस्ता भएर हुदाँहुदै अब त फलाना गुटको फलाना प्रोफेसर हुनेकी नहुने भन्नेसम्म भई सकेको छ । त्यस्तै प्रोफेसर हुनलाई पनि कोटा चाहिने भई सकेको छ । विश्वविद्यालयमा फलानो पार्टीको भिसी, रेक्टर र रजिस्ट्रार बनाउने परिपाटी शुरु भयो । यसले गर्दा राजनैतिक दलको सोझो हस्तक्षेप विश्वविद्यालयमा भएर विश्वविद्यालय राजनीति गर्ने थलो भएकोले नेपालमा विश्वविद्यालयले दिने शिक्षाको गुणस्तर बढ्न सकेन ।

विद्यार्थीहरु राजनीति गरेर ढुंगामुढा गर्ने, ताला लगाउने भए । शिक्षकहरु राजनीतिक दलको झोले भई योग्यता नपुगी जसरी पनि प्रमोसन हुनुपर्ने भन्ने मान्यतामा गए । चाकरी गरेर पदाधिकारी बनिहाल्ने अनि पदाधिकारी बनेपछि विदेश घुम्ने, मोजमस्ती गर्ने र कतावाट डोनेसन आउछ त्यो खाने अनि विश्वविद्यालयमा बसेर कमाउन धन्दा गर्ने भएपछि के हुन्छ।

४. विश्वविद्यालयहरुमध्ये सबैभन्दा टपमा आउनको लागि केके कुराले निर्धारण गर्छ ?

मुख्य कुरा त शिक्षा दिइने क्वालिटी हो । हामीले क्वालिटी एजुकेशन दिन सकिरहेका छैनौ । विश्वविद्यालयवाट उत्पादन भएका जनशक्तिहरु अन्तर्राष्ट्रिय स्तरमा विक्री हुनुपर्छ । त्यहिअनुसार पाठ्यक्रम हुनुपर्छ, शिक्षकहरु पनि हुनुपर्छ । विश्वविद्यालयमा नवीनतम खोज, अध्ययन, अनुसन्धान गर्ने काममा यथेस्ट बजेट नभएकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गर्न सक्ने सक्षम जनशक्तिहरु तयार गर्न सकिएन । शिक्षामा र अनुसन्धानमा बजेट बढाएर शैक्षिक गुणस्तर बढाउन सकिन्छ । विश्वविद्यालयको रेकिंगमा सबैभन्दा अघि आउन अन्तर्राष्ट्रिय स्तरमा त्यो विश्वविद्यालयमा कति खोज, अध्ययन, अनुसन्धान भएको छ र अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त जर्नलमा कति अनुसन्धान प्रकाशन भएको छ भन्ने कुराको साथै त्यहाँ भएका प्रोफेसरहरु कुन तहका छन् र कति जना विश्वमा नाम चलेका वा नोबेल पुरस्कार विजेता छन्, कति जना अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त राम्रा बैज्ञानिकहरु साथै राम्रा नेताहरु उत्पादन भएका छन् भन्ने कुराहरुले निर्धारण हुन्छ ।

५. त्रिभुवन विश्वविद्यालयका केहि केन्द्रिय बिभागहरु बन्द हुने अवस्थामा पुग्नुमा कसको दोष बढी छ जतो लाग्छ तपाईलाई ?

त्यो वन्द हुने कारण भनेको विश्वविद्यालयकै हो । विश्वविद्यालयको पदाधिकारीहरु, पाठ्यक्रम निर्माताहरुले राम्रो पाठ्यक्रम दिनुपर्यो । त्यहि पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक हुनुपर्यो । त्यसरी नै विद्यार्थीलाई आकर्षण गर्ने पढाई हुनुपर्छ । त्यसअनुसार विद्यार्थीहरु अन्तर्राष्ट्रिय स्तरमा बिक्ने खालको हुनुपर्छ । त्यहि खालको क्वालिटी हुनुपर्छ । अहिले त्यहि क्वालिटी नभएको कारणले गर्दा इतिहासमा, भूगोल जस्तो राम्रो विभागमा, मनोविज्ञान जस्तो राम्रो विभागमा विद्यार्थी छैनन ।

६. पहिला असफल भई सकेको सेमेस्टर प्रणाली पुन: लागू भएको छ । सेमेस्टर प्रणालीको भविष्य कस्तो देख्नुहुन्छ ?

अब यहि तरिकाले हो भने राम्रो हुँदैन । अब यसलाई सबैको सहयोग भयो भने सेमिस्टार प्रणाली आफै खराब होइन । खराब भनेको त त्यहाँका शिक्षकहरु र उत्पादन भएका जनशक्ति कस्ता छन् भन्ने हो । अब सेमिस्टार प्रणाली भनेको गुरुसँग बसेर पढ्छ भनेर ल्याएको हो तर यो त हामीले देखासिकी गरेजस्तो भयो। केदारभक्त माथेमाहरुले विश्व बैंक र एसियाली बैंकसंग उच्च शिक्षाको लागि सहयोग लिएर आइसकेपछि त्यसको शिक्षामा विकृति वढ्न थाल्यो किनकी त्यो पैसा यतापनि उतापनि पढ्न भन्यो, पाठ्यक्रम बनाउने भन्यो, पैसैपैसा भएपछि क्वालिटी घट्ने, विद्यार्थी शुन्य प्रोजेक्टहरुवाट प्रोजेक्टका निर्देशकहरु मोटाउने भए ।

७. चिकित्सा शिक्षा बिधेयक दुवै संसदवाट पारित भई सकेको अवस्थामा छ । यसमा यहाँको धारणा के छ ?

यो बिकृति आजदेखि शुरु भएको होइन गिरिजाप्रसाद कोइरालाको पालादेखि नै शुरु भएको हो । यो विकृति भनेको खाली पैसा खाने, कमाउने, माफियाहरुलाई अगाडी वढाउने किसिमको हो । डा. गोविन्द केसीको माग आफ्नो ठाउँमा समुचित छ र यो दुईतिहाइ सरकारले त्यस्तो गर्नुहुदैनथ्यो तर भैसक्यो । अब समयको प्रतीक्षा गरौ । कुनै यस्तो दिन आउला की कुनैदिन यो राष्ट्रको लागि आघात गरेको रहेछ भन्ने सोचाई आउला । यो दुईतिहाइलाई र यसमा सत्ताधारी दलको मात्र होइन यो काङ्ग्रेसदेखि नै आएको कुरा हो । यो शुरुदेखि आएको कुरालाई वढुवा गर्दिएको मात्र हो । गोविन्द केसीले यो बिग्रिएको पद्धतिलाई बनाउने प्रयास गरेका हुन् । तर त्यो प्रयास सफल हुन दिएन । कहिलेकाही के हुन्छ भने सत्य कुरा छेउ लाग्छ भने असत्यको विजय हुन्छ । अन्तिम सत्य भनेको जुन गोविन्द केसीको माग उपयुक्त रहेछ भन्ने महसुस गरेका छौं । दुईतिहाइ वहुतमवाट डा.केसीको अभियानको हर भएको छ ।

८. प्रा. डा. गोविन्द केसीको अनसन र यसभित्र घुसपेट भएको राजनीतिक स्वार्थलाई कसरी हेर्नुहुन्छ ?

शक्ति दुवैतिर छन् । गोविन्द केसीको समर्थनतिर र विरोधतिर पनि छन् । मूल विगारेको भनेको गिरिजाप्रसाद कोइरालाले हो । त्यो विगारेकोलाई गोविन्द केसीको काँधमा बन्दुक राखेर सबै खेले । कुनै बेला काङ्ग्रेस खेले, कहिले एमाले, कहिले माओवादीले पनि खेले ।

९. नेपालमा अव शिक्षाको गुणस्तर बढाउन विदेशी दात् निकायको सहयोग बन्द गर्नुपर्छ भन्ने धारणा पनि आउन थालेको छ । दात् निकायको सहयोग बन्द गर्दा हाम्रा विश्वविद्यालयहरु संचालन हुन सक्छन ? यसमा यहाँको धारणा के छ ?

राम्रोसँग सकिन्छ । इमान्दार र सक्रिय हुनुपर्छ । २०२९ साल अगाडी कुनै पनि सहयोग लिएको थिएन तर राम्रोसँग चलेको थियो । अहिले यति धेरै अनुसन्धानकर्ता र विद्यार्थीहरु छन् । पहिला इमान्दारी बन्नुपर्छ । दातृ निकायको सहयोग बिना पनि हाम्रा विश्वविद्यालयहरु संचालन हुन सक्छन र नेपालमा अव शिक्षाको गुणस्तर बढाउन विदेशी दातृ निकायको सहयोग बन्द गर्नुपर्छ ।

१०. सर त शिक्षा क्षेत्रको धेरै लामो समयसम्म काम गरेको अनुभवी विज्ञ पनि हुनुहुन्छ । अब विश्वविद्यालयहरुमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्न के गर्नुपर्ला ?

मूल कुरा के हो भने यस्तो राष्ट्रिय नीति शिक्षा हुनुपर्यो की जुन देशको आवश्यकता अनुसार हुनुपर्छ । हाम्रो विद्यार्थीलाई के आवश्यकता छ त्यो हेर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा कसरी बिकाउने त्यो हेर्नुपर्छ । हाम्रोमा उत्पादन विद्यार्थीहरु दक्ष भएर अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्न खालको हुनुपर्छ । विश्वविद्यालयलाई राजनीतिवाट टाढा राख्नुपर्छ । शिक्षकहरुलाई राम्रो योगदान गरे अनुसार उपयुक्त खालको पुरस्कारहरु दिने गर्नुपर्छ भने नराम्रो काम गर्नेलाई दण्ड दिनैपर्छ । सेवा निष्पक्ष हुनुपर्छ तर पार्टीगत हुनु पटक्कै हुदैन ।

११. आजसम्म जीवनमा देश, विदेश भ्रमण, शिक्षण, प्राध्यापन जस्ता धेरै अरोह–अवरोहका भोगाईका अनुभववाट भन्दा वास्तवमा जीवन के रहेछ ?

आज म ७० वर्षको उमेरमा आउँदा ज्ञान पाए त्यो ज्ञानलाई कतिको प्रयोग गर्न सके सकिन त्यो अलगको कुरा हो । तपाईले हेर्नुहुन्छ भने मैले पढाएका विद्यार्थीहरु राजनीतिज्ञ, शिक्षाविद्, साहित्यकार भए । आखिरमा मानिस जन्मिन्छ अनि एकदिन मर्छ । जीवन एउटा संघर्ष हो । मानिसले आफ्नो अनुभववाट सिक्दै जानुपर्दछ । संघर्षको क्रममा हामी कर्म गर्छौं । कर्म गर्दा सकेसम्म सुकर्म गर्नुपर्छ । मर्नैपर्छ एकदिन यो जीवनलाई सार्थक रुपमा विदा हुने हो भने हरेक जीवनमा आउने मृत्यु हो । यो मृत्युलाई हेरियो भने भ्रष्टाचार पनि हुदैन दुरुचार पनि हुदैन ।

१२. अरु भन्न छुटेका केहि कुराहरु छन की ?

अहिले आएर जुन राजनीतिको कारणले २०६२/६३ पछि आएर धेरै अप्ठ्यारो भएको छ । हामी पहिला निकै उत्साहित भएका थियौं । माओवादीदेखि अब केहि हुन्छ की भनेर । अहिले गणतन्त्रको नाममा जाति पनि धर्मान्तरण गर्ने, क्षेत्रलाई पनि छुट्याउन खोज्ने, भाषागत विखण्डन गर्न खोज्ने, कुनै दिन यो देश भुटान जस्तो नहोस् साथै सिक्किम जस्तो पनि नहोस् । यी कुराहरुले गर्दा निकै चिन्ता लाग्छ । राजनीतिक दलका नेताहरु र कार्यकर्ताहरु पनि धेरै बेइमान भए ।

१३. अन्त्यमा, नेपालपत्रमार्फत आम पाठकलाई के भन्न चाहनुहुन्छ ?

जति सक्नुहुन्छ आफु सचेत हुनुस् र अरुलाई पनि सूसुचित गर्नुस् । सत्य कुरा के हो त्यसलाई तथ्यको आधारमा विश्लेषण गर्ने गर्नुहोस । यो राजनीति भनेको त नीतिहरुको प्रमुख नीति नै हो तर अहिले जुन हाम्रो देशमा विकृतिको मुख्य कारण राजनीतिले गर्दा भएको छ । शिक्षाका सम्पूर्ण नीतिहरु बिगारेको राजनीतिक नै हो । हामी सबै सचेत नागरिक र नागरिक समाज यस्तो विकृत भएको राजनीतिको विरुद्ध उठ्नुपर्छ ।