७ बैशाख २०८१, शुक्रबार

बर्दियाका जनताले मलाई राष्ट्रिय राजनीतिको भूमिकामा आउन मत दिएर पठाए – सिँचाई मन्त्री गौतम


Sanjay Gautam सञ्जय गौतम

पुस २०, २०७४, काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनमा बर्दिया-१ वाट वाम गठबन्धनका सूत्रधारमध्येका एक बामदेब गौतमलाई हराएर चर्चाको शिखरमा रहेका सिँचाई मन्त्री सञ्जय गौतम मेन अफ द एलेक्शनको रुपमा स्थापित हुनुभयो । उहाँ ३ पटक नेपाली काँग्रेस जिल्ला पार्टी सभापति भई सकेको, जिल्लामा राम्रो पकड भएको र जनताको नेता भएकै कारणले बामदेब गौतमलाई हराउन सफल हुनुभयो । 

असारमा भएको स्थानीय चुनावमा वडाअध्यक्षको मतलाई आधार मान्दा बर्दिया १ मा एमाले र माओवादीको संयुक्त मत कांग्रेसभन्दा लगभग ३१ हजार बढी थियो । अवको हाम्रो यात्रा भनेको देशको आर्थिक समृद्धि र बिकासको यात्रा हो । संघीयतालाई ब्यबस्थापन गर्दै समृद्ध र समुन्नत नेपाल निर्माण गर्ने अभियानमा सवै मिलेर अघि बढ्नुपर्छ । जनताले दिएको जनादेशलाई सम्मान गर्नुपर्छ भन्ने धारणा राख्दै आउनु भएको छ ।

राष्ट्रिय व्यक्तित्व भई सकेको कारणले पार्टीको नेतृत्वमा पनि आउनुपर्छ भन्ने आवाज बर्दियावासी जनता र आम नेपाली काँग्रेसका कार्यकर्तामा उठन् थालेको छ । साथै केहि मेडियामा पनि उहाँलाई नेपाली काँग्रेसको राजनीतिमा अग्रपक्तिमा नेतृत्व लिनुपर्ने संकेत गरेको देखिन थालेको छ । प्रतिनिधि सभाको निर्वाचन र यसको परिणाम, उहाँको सानदार विजय तथा नेपाली काँग्रेसको भावी रणनीतिको बारेमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।

१. वाम गठबन्धनका सूत्रधारमध्येका एक बामदेब गौतमलाई हराएरपछि चर्चाको शिखरमा हुनुहुन्छ ।  कस्तो अनुभव गरी राख्नु भएको छ ?

चर्चा हुनु स्वाभाविक हो । उहाँलाई दम्ब थियो चुनाव जित्छु भन्ने तर चुनावमा उहाँ पराजित हुनुभयो । मलाई पहिला नै थाहा थियो कि यो परिणाम मेरो पक्षमा आउछ भनेर कसैले पत्याएका थिएनन् तर मलाई चाई स्वभाविक नै लाग्यो र अरुलाई चाहि आश्चर्य लागेछ । सारा देशवासी नेपाली र मेरा जिल्लावासी आम जनताको मप्रतिको बिश्वास र भरोशाले मलाई ठुलो दायित्ववोध महशुस भएको छ ।

२. बर्दिया–१ बाट जनताले तपाईलाई जिताउनको खास कारण के हो ?

बर्दियाका जनताले मलाई पहिला देखि नै माया गर्थे मैले बर्दियाको क्षेत्र न. १ वाट चुनाव लड्ने अवसर पाएको थिएन र बर्दियाका जनताले बास्तवमा अहिलेसम्म धेरै दिएपनि केहि पाएका थिएनन् । त्यसैले बर्दियाका जनताले परिबर्तन, विकास र राष्ट्रिय राजनीतिमा आफ्नो प्रतिनिधित्व चाहान्छन । समग्र रुपले भन्ने हो भने सहि प्रतिनिधि खोजेका थिए त्यो मैले कर्तव्य निभाउन पाए ।

३. असारमा भएको स्थानीय चुनावमा वडाअध्यक्षको मतलाई आधार मान्दा बर्दिया १ मा एमाले र माओवादीको संयुक्त मत कांग्रेसभन्दा लगभग ३१ हजार बढी थियो भनिन्छ । प्रतिनिधि सभाको निर्वाचनमा कसरी युटन भएको नतिजा आयो ?

३१८०० चानचुन जतिको मतको फरक थियो । हामी त्यतिबेला हाम्रा आन्तरिक समस्याहरु पनि थिए । त्यस समयमा उम्मेदवारहरुको पनि समस्याहरु थिए । पार्टीलाई हामीले समग्र रुपमा लिएर जान सकेका थिएनौ । अब संगठनका हिसाबले उपस्थिति राम्रो हो तर हामीले त्यसलाई ब्यवस्थापन गर्न सकेका थिएनौ । अहिलेको मेरो उम्मेदवारीमा मैले त्यो कुरालाई ब्यवस्थापन गर्ने पनि प्रयास गरे । ब्यवस्थापन साथीहरुले पनि साथ सहयोग गर्नुभयो र यो सम्भव भयो ।

४. खासमा तपाईको जित र बामदेबको हारको कारण के हो जस्तो लाग्छ तपाईलाई ?

साँचो कुरा के हो भने जनता कसैको पेवा हुदैन सबैको हुन्छ । जसले जनताको मन छुन्छ, जसले जनताको भावना छुन्छ, जसले जनताको पहिचान गर्छ, जसले दु:ख-सुखमा जनतालाई साथ दिन्छ, जनता त्यसैको हो । बर्दियाका समग्र जनताहरुसंग म जोडिए । उहाँहरुले जनतालाई मात्र कार्यकर्ता ठान्नुभयो तर जनता कार्यकर्ता नभई जनता जनार्दन हुन् । जनताहरुको भाबना मैले बुझेको थिए उहाँले कार्यकता ठान्नुभयो, त्यस्तो व्यवहार गर्नुभयो मैले भने जनता कसैको हुदैन हामी सबैको हो भने मलाई विश्वास गर्नुभयो ।

५. धेरैले तपाईको व्यक्तित्व र जिल्लामा तपाईको लोकप्रियताको कारण पनि भन्छन् । अव त राष्ट्रिय व्यक्तित्व भई सकेको कारणले तपाई पार्टीको नेतृत्वमा पनि आउनुपर्छ भन्ने जनमत सिर्जना हुनु र मेडियामा पनि केहि संकेत देखा पर्नुलाई कसरी लिनु भएको छ ?

अब मैले राष्ट्रिय राजनीतिको नै कर्तब्य निर्बाह गर्ने बिचार गरेको छु ।

६. वामदेवले आफ्नै पार्टीका गुटले हराएको सञ्चार माध्यमलाई  पटक पटक बताउनु भएको छ । यसलाई तपाईले कसरी लिनु भएको छ ?

यो उहाँको हारलाई स्वीकार गर्न नसक्ने दरिद्र मानसिकको पराकाष्ट हो भन्छु । आफ्नो गल्ती, कमजोरी नबुझ्ने, जनताको दु:खसुख नबुझ्ने, जनतालाई कार्यकर्ता मात्र हो भनेर ठान्ने दरिद्र मानसिकका कारण उहाँ हार्नु भएको हो । हरेक संगठनभित्र बादबिबाद र समस्या हुन्छन् । नेपाली कांग्रेसभित्र पनि छन् तर त्यस्तो खालको व्यवस्थापनले २/४ सय भोटले तलमाथि होला अब यत्रो ठुलो मतलाई त्यसको खालको कुराले पूर्ति गर्न सक्दैन । आम जनताको मसंग समर्थनलाई उहाँले बुझ्नु भएन मैले त्यसलाई सम्बोधन गरे ।

७. तपाई मन्त्री भई सकेपछि सिँचाइ मन्त्रालय अन्तर्गत ४ वटा  राष्ट्रिय गौरवका आयोजनाहरुको भौतिक प्रगति कस्तो भई रहेको छ ?

एकदम राम्रो छ । मेरो सम्पुर्ण ध्यान यसमा केन्द्रित छ । यसको भौतिक प्रगति तीब्र गतिमा भई रहेको छ । समयमै सवै योजना सम्पन्न गर्नमा सवै संयन्त्र परिचालन गरि रहेको छु । हिजो भखरै मैले यो  भेरी बबई डाईभर्शनको लागि एक अर्व रुपैया  बजेट निकासा गराएको छु ।

८. प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसको समग्र कम सिट आएपछि पार्टीमा युवा नेतृत्व अघि आउनुपर्छ भन्ने धारणालाई तपाईले कसरी हेर्नुभएको छ ?

युवालाई उपेक्षित गर्नुहुदैन । युबा नेतृत्वलाई पनि सुरक्षित स्थान दिएर अगाडी बढाउनुपर्छ । यो भन्नुको मतलब पूर्णतया विस्तापित गर्नु भनेको होइन । नेपाली  काँग्रेसको केन्द्रीय समितिले समीक्षा गर्नुपर्छ र नयाँ ढंगले अगाडी बढ्नुपर्छ ।

९. नेपाली काँग्रेसको जिम्मेवार नेता भएकोले अव नेपाली काँग्रेसको नेतृत्व कसरी अघि बढ्नुपर्छ जस्तो लाग्छ ?

सबभन्दा पहिले नेपाली काँग्रेसले पराजयलाई स्वीकार्नुपर्छ र आत्मसमिक्षा गर्नुपर्छ । केन्द्रीय समितिको वैठकमा यसको कारणहरु खोज्नुपर्छ । नेतृत्वले यसको अधिकतम जिम्मेवारी लिनुपर्छ र संगठन सुधार गरेर अगाडी बढ्नुपर्छ ।

१०.   जीवनमा भएका अविस्मरणीय र रमाईला क्षणहरुको बारेमा बताईदिनु होस् न ?   

मलाई के लाग्छ भने यो निर्बाचनको परिणाम जब आयो सबै आश्चर्यचकित भए र मैले जब हाम्रो पार्टीको सभापति तथा सम्माननीय प्रधानमन्त्रीज्युसंग भेट्दा उहाँले मलाई बधाई दिदै तिमी त मेन अफ द एलेक्शन् भयौ भन्दा मलाई महशुस भयो कि मैले पनि देश र नेपाली कांग्रेसका लागि राम्रै काम गरेछु ।

११.   अन्त्यमा, नेपालपत्र मार्फत आम नेपाली जनतालाई के शन्देश दिन चाहनुहुन्छ ?

हामी स्थिर सरकार बनाउने प्रयासमा छौ । अव हाम्रो यात्रा भनेको देशको आर्थिक समृद्धि र बिकासको यात्रा हो । हाम्रो एउटा राजनीतिक यात्रा पुरा भएको छ । संबिधान बन्यो र निर्वाचनहरु पनि सम्पन्न भई सकेको छ । संघीयताको ब्यबस्थापन गर्ने हामीलाई सवभन्दा ठुलो चुनौती छ । संघीयतालाई ब्यबस्थापन गर्दै समृद्ध र समुन्नत नेपाल निर्माण गर्ने अभियानमा सवै मिलेर अघि बढ्नुपर्छ । जनताले दिएको जनादेशलाई सम्मान गर्नुपर्छ । जनताले जसलाई जुन स्थान दिएको छ, त्यसले त्यही स्थानमा समुचित भूमिका निर्वाह गर्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !