७ बैशाख २०८१, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै ह्यातुङ झरना


असोज ५, तेह्रथुम | तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यातुङ झरना अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ । वर्षात्को समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ । झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न विभिन्न जिल्लाबाट दैनिक २०० बढी आन्तरिक पर्यटक आउने गरेको ह्यातुङ झरना एकता समाजका अध्यक्ष राम तिम्सिनाले बताउनुभयो ।

प्राकृतिक झरनाले पर्यटकलाई आकर्षण गरे पनि झरना वरिपरि पर्यटकीय पूर्वाधार र संरचना निर्माण तथा पर्याप्त प्रवद्र्धनमा सम्बन्धित निकायले चासो दिएको छैन । ग्रामीण सडकको स्तरोन्नति नहुँदा झरनासम्म पुग्न आठराई र फेदाप गाउँपालिकाबाट पदैल यात्रा गर्नुपर्छ ।

छोटो समयमा तेह्रथुमका पर्यटकीय गन्तव्य पुग्न नसक्ने भएपनि झरनामा पुगेर पर्यटक आनन्द लिने गर्दछन् । उक्त झरनाको पूर्वाधार विकास, प्रचार र प्रवद्र्धन गर्नसके थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

तेह्रथुम सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्ती बजार प्रवेश गर्ने जो कोहीलाई पनि यो झरनाले आकर्षित गरेको छ । झरनामा तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापालगायत ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्दछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !