११ बैशाख २०८१, मंगलबार

बाँदरको सेल्फीका कारण कंगाल भएका फोटोग्राफरले अन्ततः मुद्दा जिते


भदौ ३१ , न्यूयोर्क । लामो कानुनी विवादपछि अन्ततः बाँदको सेल्फीको स्वामित्व फोटोग्राफरलाई नै दिइने भएको छ । न्यू साउथ वेल्सका फोटोग्राफर डेविड स्लेटरको क्यामेरामा बाँदरको सेल्फी खिचिएको थियो । विश्वमै चर्चित यो तस्वीरको स्वामित्वमा विवाद रहँदै आएको थियो ।

पशु अधिकार समूह ‘पेटा’ ले बाँदरले नै सेल्फी लिएको भन्दै तस्वीरको स्वामित्वमा फोटोग्राफर स्लेटरको कुनै हक नरहेको दाबी गरेको थियो । स्लेटरले भने तस्वीरका लागि आफूले वातावरण मिलाएको, निकै मेहनत गरेको र क्यामेरा पनि आफ्नै रहेको दाबी गर्दै स्वामित्व आफूले पाउनु पर्ने जिकिर गरेका थिए ।

यो तस्वीर सन् २०११ मा इन्डोनेसियाको जंगलमा लिइएको थियो ।

तस्वीरको स्वामित्व सम्बन्धी मुद्दामा फैलसा गर्दै अमेरिकी अदालतका न्यायाधीशले बाँदरलाई स्वामित्वसम्बन्धी कानुन अन्तर्गत अधिकार दिन नमिल्ने बताए । साथै उनले बाँदरका तर्फबाट पेटाले दायर गरेको मुद्दा पनि खारेज गरिदिएका छन् । फोटोग्राफर स्लेटरले उक्त तस्वीरको रोयल्टीबाट प्राप्त हुने रकमको २५ प्रतिशत रकम दान गर्ने भएका छन् । उनले तस्वीर बिक्रीबाट आउने रकमको एक चौथाइ हिस्सा उक्त बाँदर रहेको स्थानको रक्षा र विकासमा सक्रिय संस्थालाई दिने सहमति भएको स्लेटर र पेटाका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

विश्वमै चर्चित रहेको यो तस्वीरबापत हालसम्म फोटोग्राफर स्लेटरले आम्दानी हासिल गर्न सकेका छैनन् । तस्वीरको स्वामित्वसम्बन्धी कानुनी विवादका कारण उनले रकम पाउन नसकेका हुन् ।

यस अतिरिक्त कानुनी झमेलाका कारण उनले आर्थिक रुपमा समेत भार व्यहोर्नु परेको थियो । केही अघि उनले यही विवादका कारण आफ्नो आर्थिक अवस्था नाजुक बनेको तथा पकेट खर्चका लागि समेत पत्नीमाथि निर्भर रहनु परेको बताएका थिए । (एजेन्सी)

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !