११ बैशाख २०८१, मंगलबार

आइफोनको इतिहास २००७ देखी २०१६ सम्म


iphone-history

पछिल्लोपटक आइफोन एस इ सम्म आइपुग्दा एप्पलको आइफोनले ९ वर्षको यात्रा पूरा गरिसकेको छ । यो नौ वर्षमा आइफोन धेरै बदलिएर ससक्त तथा अत्याधुनिक बनेको छ ।

हरेक पटक अब्बल फिचर्स तथा प्रविधिका साथमा परिस्कृत हुँदै आएको एप्पलले बिक्रीमा हरेक पटक रेकर्ड कायम गर्न सफल भयो । हालै आफ्नो सबैभन्दा पछिल्लो आइफोन एस इ सार्वजनिक गर्यो, जसलाई मिनी आइफोन नाम दिइएको छ । नौ वर्ष अगाडि पहिलोपटक आइफोन सार्वजनिक हुँदा र अहिलेको आइफोनसम्म आइपुग्दा आइफोनको यात्रा कस्तो रह्यो त ? एकपटक जानिहालौँ ।

एप्पल आइफोन

एप्पलका तत्कालिन सिइओ स्टिभ जब्सले सन् २००७ को जनवरी ९ मा एप्पललको पहिलो आइफोन सार्वजनिक गरे । बजारमा चलेको महिनौँको अड्कलबाजी तथा हौवाका बीच सार्वजनिक भएको आइफोनले स्मार्टफोन बजारमा नयाँ मानक स्थापित गर्न सफल भयो ।

पहिलो आइफोनको ४ जिबी मोडेलको मूल्य ४ सय ९९ तथा ८ जिबी मोडेलको मूल्य ५९९ डलर तोकिएको थियो । उक्त आइफोनमा ३.५ इन्चको डिस्प्ले थियो जसको रिजोलुसन ३२० गुणा ४८० पिक्सेल थियो । आइओएस ३.१.३ अपरेटिंग सिस्टम रहेको यो आइफोनमा ४२१ मेगाहर्जको प्रोसेसर रहेको थियो । यसमा २ मेगापिक्सेलको एउटा मात्र क्यामरा थियो र ब्याट्री निकाल्न सकिँदैनथ्यो ।

आइफोन थ्री जी

पहिलो आइफोन सार्वजनिक भएको एक वर्षपछि नै एप्पलले दोश्रो आइफोन बजारमा ल्यायो । यसको नाम थियो आइफोन थ्री जी । यसले थ्री जी नेटवर्क सपोर्ट गर्नुका साथै जिपिएस प्रविधि र बढि स्टोरेज क्षमता पनि थियो । यसको मूल्य पनि घटाइएको थियो । ८ जिबी मोडेललाई १९९ र १९ जिबीलाई २९९ डलर तोकिएकोे थियो ।

यसमा साढे ३ इन्चको डिस्प्ले, ३२० गुणा ४८० पिक्सेल रिजोलुसन, ४१२ मेगाहर्जको प्रोसेसरका लागि १२८ एमबीको र्याम थियो । यसमा २ मेगापिक्सेलको एउटा क्यामरा राखिएको थियो ।

आइफोन थ्री जी एस

आइफोन थ्री कै रुपरंगको आइफोन थ्री जी एस आइफोनको तेश्रो संस्करण थियो । यो थ्री जि भन्दा दोब्बर तेज थियो । ३२ जिबीको थ्री जि एस मोडेलको मूल्इ २९९ तथा १६ जिबी मोडेलको मूल्य १९९ डलर थियो । यो आइओएस थ्री अपरेटिंग सिस्टममा चल्दथ्यो । यसमा ६ सय मेगाहर्जको कोर्टेक्स ए ८ प्रोसेसरका साथे २५६ एमबीको र्याम थियो । यसमा ३.१५ मेगापिक्सेलको क्यामरा हालिएको थियो ।

आइफोन फोर

एप्पपले सन् २०१० को जुन ४ मा नयाँ संस्करणको आइफोन सार्वजनिक गर्यो । आइफोन फोर नाम दिइएको उक्त आइफोन आइओएस फोर अपरेटिंग सिस्टममा चल्नुका साथै त्यसमा फेसब टाइम भिडियो च्याट सुविधा पनि थियो । मूल्य भने आइफोन थ्री जी एसकै बराबर राखियो ।

एप्पलले पहिलो पटक यो आइफोनमा रेटिना डिस्प्ले प्रविधि राखेको थियो । यो स्मार्टफोनको गति तेज थियो । यसमा १ गिगाहर्जको कर्टेक्स ए ८ प्रोसेसर प्रयोग गरिएको थियो । यसमा ५ मेगापिक्सेलको मुख्य क्यामरा थियो, जसमा एलइडी फ्लास तथा भिडियो कलका लागि भिजिए प|mन्ट फेसिंग क्यामरा थियो ।

आइफोन फोर एस

एप्पलले सन् २०११ को अक्टोबरमा आइफोन फोर एस सार्वजनिक गर्यो । स्टिभ जब्सले एप्पलको सिइओबाट राजिनामादिएको केही हप्तामै नयाँ सिइओ टिम कुकले आइफोन फोर एस सार्वजनिक गरेका थिए । यसमा पहिलोपटक डुअल कोर प्रोसेसरको प्रयोग गरिएको थियो ।

यो आइफोन १६, ३२ तथा ६४ जिबी मोडेलमा उपलब्ध थियो । यो साढे ३ इन्चको डिस्प्ले थियो जसको रिजोलुसन ६४० गुणा ९६० पिक्सेल थियो । यसमा डुअल कोर १ गिगाहर्जको कर्टेक्स ए ९ प्रोसेसर, ५१२ एमबीको र्यामका लागि ८ मेगापिक्सेलको मुख्य क्यामरा रहेकेा थियो ।

आइफोन फाइभ

एप्पलले आफ्नो आइफोनको साइज बढाउने क्रममा आइफोन फाइभमा ४ इन्चको डिस्प्ले प्रस्तुत गरेको थियो । सन् २०१२ मा लन्च भएको यो आइफोनका १६, ३२ तथा ६४ जिबीका मोडेलको मूल्य समान ३९९ डलर तोकिएको थियो ।

आइओएस सिक्स अपरेटिंग सिस्टम रहेको यो आइफोनमा १.३ गिगाहर्ज डुअल कोर प्रोसेसर, ८ मेगापिक्सेलको मुख्य तथा १.२ मेगापिक्सेलको सेल्फी क्यामरा थियो । यसमा १४४० मिलि एम्पिएर आवरको ब्याट्री प्रयोग गरिएको थियो ।

आइफोन फाइभ एस र फाइभ सी

सेप्टेम्बर २०१० मा एप्पलका सिइओ टिम कुकले दुइ नयाँ आइफोन सार्वजनिक गरे । ती मध्ये एउटा महंगो मूल्यको आइफोन फाइभ एस र अर्को रंगीत कलेबरको तर सस्तो मूल्यको आइफोन फाइभ सी थियो । फाइभ एस मा ६४ बिट ए सेभेन एसओसी, टच आइडी तथा न्यू मोसन डाटान प्रोसेसर जस्ता फिचर्स थिए ।

आइफोन फाइभ सी को भाउ १६ जिबी मोडेलको लागि ९९ डलर तोकियो भने फाइभ एस को मूल्य १९९ डलर । दुबैमा ४ इन्चको डिस्प्लेका साथै आइओएस सेभेन अपरेटिंग सिस्टम प्रयोग गरियो । यसमा ८ मेगापिक्सेलको मुख्य तथा १.२ मेगापिक्सेलको सहायक क्यामरा थियो ।

आइफोन सिक्स र सिक्स प्लस

अघिल्लो पटक एकसाथ आइफोन फाइभका दुइ मोडेल सार्वजनिक गरेको कार्यलाई निरन्रता दिँदै एप्पलले एकसाथ आइफोन सिक्स र सिक्स प्लस सार्वजनि गर्यो । आइफोन सिक्समा ४.७ इन्च डिस्प्ले थियो भने सिक्स प्लस मेगा आइफोनको रुपमा रह्यो, जुन ५.५ इन्चको स्त्रिmनमा प्रस्तुत गरियो ।

दुबै स्मार्टफोनमा ए ८ प्रोसेसर राखिएको थियो । यी स्मार्टफोनमा एप्पल पे सेवा पनि उपलब्ध गराइएको छ । आइफोन सिक्सको मूल्य आइफोन फाइभ एस को जत्तिकै थियो भने सिक्स प्लसको मूल्य त्यो भन्दा एक सय डलर बढि । आइओएस ८ अपरेटिंग सिस्टमले युक्त यी आइफोनमा ८ मेगापिक्सेलको मुख्य तथा १.२ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

आइफोन सिक्स एस र सिक्स एस प्लस

आइफोन सिक्स र सिक्स प्लसको अपग्रेटेड भर्सनको रुपमा एप्पलले आइफोन सिक्स एस र सिक्स प्लस सार्वजनिक गर्यो । यसमा पहिलोपटक फोर्स टच टेक्नोलोजीको प्रयोग गरियो, जसलाई थ्री डी टच टेक्नोलोजी पनि भनिन्छ ।

साथै यसमा १२ मेगापिक्सेलको आइसाइट क्यामराको प्रयोग गरियो, जसले फोर के भिडियो रेकर्ड गर्न सक्छ । दुबै आइफोनमा ए नाइन चिप तथा आइओएस नाइन अपरेटिंग सिस्टम रहेका छन् । आइफोन सिक्स एसको मूल्य १६, ३२ र ६४ जिबीका मोडेललाई क्रमशः ६४९, ७४९ र ८४९ डलर तथा आइफोसन सिक्स प्लसलाई क्रमशः ७४९, ८४९ तथा ९४९ डलर तोकियो ।

आइफोन एस इ

एप्पलले हालै आफ्नो विशेष संस्करण भन्दै आइफोनवको नयाँ मोडेल आइफोन एस इ सार्वजनिक गरेको छ । ४ इन्च डिस्प्ले सहितको यो मिनी आइफोनको मूल्य ३९९ डलर तोकिएको छ ।

यसमा १२ मेगापिक्सेलको मुख्य तथा १.२ मेगापिक्सेलको सेल्फी क्यामरा रहनुका साथै टच आइडी प्रविधि कायम छ । यसमा एप्पलको नयाँ आइओएस ९.३ अपरेटिंग सिस्टम प्रयोग गरिएको छ । यो आइफोन सिल्भर, ग्रे, गोल्ड तथा रोड गोल्ड गरी ४ रंगमा उपलब्ध छ । एप्पलले यो आइफोनको प्रिअर्डर सुरु गरिसकेको छ र मार्च अन्तिमदेखि सिपमेन्ट सुरु गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !