८ बैशाख २०८१, शनिबार

नेपाल टेलिकमले विपद जोखिमको क्षेत्रमा एसएमएसमार्फत पूर्वसूचना दिने


nepal telecom

नेपाल टेलिकमले बाढीको अत्याधिक जोखिम क्षेत्रका रहेका स्थनीयलाई मौसमी प्रभावबारे एसएमएसमार्फत जानकारी गराउने भएको छ। महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाइएको नेपाल टेलिकमले जनाएको छ।

यस सम्वन्धमा टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत जानकारी गराउनेगरी सम्झौता भएको छ।

सो सम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरे। सम्झौता अनुसार यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको डाटा मौसम विज्ञान विभागलाई उपलब्ध गराउने छ ।

विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनुपूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा एसएमएस मार्फत आवश्यक जानकारी पठाउने छ। यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ।

सम्झौतापछि नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले क्षति न्यूनिकरण गर्ने तथा स्थानीयको जीवन जोगाउने उद्देश्यले यो पहल थालिएको बताए। त्यस्तै मौसम विज्ञान विभागका महानिर्देशक शर्माले कम्पनीसँग भएको सम्झौतालाई विभागले दक्षतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

बर्तमान बर्षाको मौसममा खासगरी बाढी पहिरोका कारण धेरै नेपाली प्रभावित भइरहेको समयमा कम्पनी र विभाग बीचको यो सहकार्यले जनधनको क्षति न्यूनिकरण गर्न प्रभावकारी भूमिका खेल्ने दुवै पक्षको अपेक्षा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !