६ बैशाख २०८१, बिहिबार

इन्स्टाग्रामवाट युवाको मानसिक स्वास्थ्यमा हुने वेफाइदाहरु


instagram

बेलायतमा गरिएको एउटा सर्वेक्षणले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई युवाहरूको मानसिक स्वास्थ्यमा सबैभन्दा खराब असर पार्ने मिडिया प्लेटफर्म भएको निष्कर्ष निकालेको छ ।

सर्वेक्षणमा १४ देखि २४ वर्षसम्मका १ हजार ४ सय ७९ जना सहभागी थिए । सहभागीहरूलाई पाँच लोकप्रिय सामाजिक सञ्जालका विकल्प दिइएका थिए । उनीहरूले ती सञ्जाल प्रयोग गर्दा हुने व्यग्रता, डिप्रेसन, एक्लोपन, अरुलाई खसाल्ने र ‘बडी इमेज’का आधारमा अंक दिन भनिएको थियो ।

सर्वेक्षणको परिणाम मध्यनजर गरी मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत बेलायती संस्था द रोयल सोसाइटी फर पब्लिक हेल्थ (आरएसपिएच)ले सामाजिक सञ्जालका प्रयोगकर्ता विशेषगरी युवालाई यस्ता ‘कन्टेन्ट’बाट जोगाउन आह्वान गरेको छ ।

आरएसपिएचले सावधानीका लागि मानसिक समस्याग्रस्त युवाको पहिचान यस्ता सामाजिक सञ्जालले गर्नुपर्ने बताएको छ । उसले आफ्नो प्रतिवेदनमा सामाजिक सञ्जालले युवाहरूमा गम्भीर मानसिक समस्या सिर्जना गरिरहेको हुनसक्ने चेतावनी पनि दिएको छ ।

अहिले विश्वभर नै करिब ९० प्रतिशत युवा सामाजिक सञ्जाल उपयोग गर्छन्, त्यसैले सबैभन्दा धेरै जोखिम पनि युवाहरूलाई नै छ । र, यसबाट सबैभन्दा धेरै नकारात्मक प्रभाव पनि युवाहरूमाथि नै पर्छ ।

आइला अहिले बीस बाइस वर्षकी छिन् । किशोर उमेरमा उनी निकै डिप्रेस थिइन् । त्यसैबेला उनी सामाजिक सञ्जालको दुनियाँमा प्रवेश गरिन् । ‘मलाई अनलाइन कम्युनिटीले उनीहरूसँग सहभागी छु भनेर अनुभूति गराए र मेरो अस्तित्वको पनि । यसपछि मैले वास्तविक जीवनमा आफ्ना साथीहरूलाई बेवास्ता गर्न थालें,’ उनी भन्छिन्, ‘र आफ्नो सबै समय अनलाइन साथीहरूसँग कुराकानीमा बिताउन थालें ।’

उनले आफू १६ वर्षकी हुँदा ६ महिनासम्म डिप्रेसनग्रस्त भएको र त्यो समय आफ्ना लागि नारकीय भएको बताइन् । ‘डिप्रेसनका बेला सामाजिक सञ्जालले मलाई झन् डिप्रेस बनायो,’ उनले भनिन्, ‘किनभने म आफूलाई सञ्जालमा हुने अरुसँग तुलना गर्थें र झन् डिप्रेस हुन्थें ।’
आफू १९ वर्षकी हुँदा डिप्रेसनको एउटा अर्को अध्याय जोडिएको र सामाजिक सञ्जालका साथीहरूले अनेक थरी गरेको देखेर मनमनै डाहा भइरहने उनले बताइन् ।

तर त्यसपछि उनले सामाजिक सञ्जालको सकारात्मक पक्ष पनि थाहा पाइन् । ‘मैले मानसिक स्वास्थ्यसम्बन्धी धेरै ब्लग लेखें र धेरैजनासँग यसबारे गतिला कुराकानी समेत गरें,’ उनी भन्छिन्, ‘५/६ वर्षअघिका मेरा अनलाइन मित्रमध्ये केहीसँग त भेटघाट पनि गरिसकें ।’

युट्युब सामाजिक सञ्जालमध्ये सबैभन्दा सकारात्मक

अनलाइन गरिएको सर्वेक्षणमा सहभागीहरूसँग फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम र स्न्यापच्याटबाट पर्ने मानसिक असरबारे सोधिएको थियो । पाँचै सामाजिक सञ्जालबारे सर्वसाधारणको स्वास्थ्यसँग जोडिएका १४ प्रश्नमा अंक/स्कोर दिनुपर्ने थियो ।

यसमा युट्युबलाई सामाजिक सञ्जालमध्ये सबैभन्दा सकारात्मक असर पार्ने मानिएको थियो । फेसबुकपछि ट्विटर र फेसबुकले स्कोर पाएका थिए । आरएसपिएचमा आबद्ध शर्ली क्रेमर भन्छिन्, ‘इन्स्टाग्राम र स्न्यापच्याटलाई सबैभन्दा खराब मानिनु रोचक रह्यो । दुवै सञ्जाल तस्बिर केन्द्रित भएकाले दुवैले युवाहरूलाई अक्षम र व्यग्र बनाइरहेको हुनसक्छ ।’

बिबिसीले यसबारे कुराकानी गर्न प्रयास गरे पनि इन्स्टाग्रामले कुनै उत्तर दिएन ।सर्वेक्षणको निष्कर्ष मध्यनजर गरी केही स्वास्थ्य विशेषज्ञले सामाजिक सञ्जाल प्लेटफर्महरूसँग केही कदम चाल्न आग्रह गरेका छन् । जस्तै :

  • लामो समय सामाजिक सञ्जाल प्रयोगकर्तालाई स्क्रिनमा एउटा चेतावनीको पप–अप दिने (सर्वेक्षणका ७० प्रतिशत सहभागीद्वारा समर्थन) ।
  • मानसिक समस्याग्रस्त प्रयोगकर्ताको पहिचान गर्ने र समस्याबाट छुट्कारा पाउन सहायता गर्ने संस्था/ठाउँबारे उनीहरूलाई जानकारी दिने ।
  •  फैसन ब्रान्ड, विज्ञापन वा विशिष्ट व्यक्तित्वका डिजिटली बिगारेका तस्बिरमा कुनै आइकन वा चिह्न/संकेत आउनुपर्ने, जसबाट उनीहरूलाई ठम्याउन सकियोस् ।-बिबिसी

यो पनि पढ्नुहोस्  

सूचना प्रविधि र स्मार्ट राष्ट्रिय परिचयपत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !