१३ बैशाख २०८१, बिहिबार

टेलिकमले घटायो भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल दर


नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनीय रुपमा कमी गर्ने भएको छ ।

मे १७ मा मनाइने ITU Day 2023 को अवसरमा भोलि जेठ ३ गतेदेखि लागू हुने गरी नयाँ महसुल दर कायम हुने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन् । नयाँदर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट रु. ७ मात्र शुल्क लाग्ने छ ।

त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रतिमिनेट रु. ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस रु. ७ नै लाग्ने छ । हाल भारतको कुनै नम्बरमा कल गर्दा रु. ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा रु. १४ र एसएमएस गर्दा रु. २४ लाग्ने व्यवस्था छ ।

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथापोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट रु. ५० मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रतिमिनेट रु. २५ र एसएमएस गर्दा प्रतिएसएमएस रु. १० लाग्ने छ ।

हा लकुनै नम्बरमा कल गर्दा रु. १३५ र अन्य नम्बरबाट आएको कल उठाउँदा रु. ९० लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस रु. ३४ लाग्छ । त्यसैगरी डाटा चलाउँदा हाल प्रतिएमबी रु. ४० शुल्क भएकोमा अबप्रति१०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रतिएमबी करिव रु. ५ मात्र लाग्ने छ ।

अन्य देशमाजाँदा-रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कलगर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदान-प्रदान गर्न सकिन्छ ।

रोमिङ सेवा र यसको वारेमा विस्तृत जानकारी https://ntc.net.np/post/international-roaming-1 मा हेर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !