६ बैशाख २०८१, बिहिबार

सुझावका आधारमा साइबर सुरक्षा विधेयक तयार हुन्छ : सञ्चारमन्त्री कार्की


ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवाला सङ्घ/संस्था र विज्ञहरूको सुझावका आधारमा ‘साइबर सुरक्षासम्बन्धी विधेयक’ लाई पूर्णता दिने बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा उपर छलफलमा सरकार प्रवक्ता कार्कीले सरोकारवाला सङ्घ/संस्था र विज्ञहरूको सल्लाह र सुझावका आधारमा मात्रै विधेयकलाई व्यवस्थित र समयानुकूल बनाइने बताए ।

“अहिले बम, बारुद, बन्दुकद्वारा प्रभाव जमाउने होइन, साइबरमाथि आक्रमण गरेर प्रभाव जमाउने प्रविधिको विकास भइरहेको छ, त्यसैले हामीले हाम्रो प्रविधिलाई कसरी विकास गरेर लिएर जाने भन्ने बारेमा छलफल हुन जरुरी छ,” मन्त्री कार्कीले भने ।

उनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको तीव्र गतिको विकासले संसारलाई सानो गाउँमा रुपान्तरण गरिसकेको बताए । साइबर सुरक्षा बिना देश सुरक्षित हुन नसक्ने बताउँदै उहाँले सूचना सञ्चार प्रविधिको विकाससँगै हुने विकृतिलाई रोक्न आवश्यक रहेको बताए ।

हाल नेपालमा मोबाइल सेवाको पहुँच सबै ग्रामीण क्षेत्रसम्म पुगिसकेको र मोबाइल ब्रोडब्याड इन्टरनेटको पहुँच ९५ प्रतिशतभन्दा पनि बढी नागरिकहरूसम्म पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले इन्टरनेट सेवाको विस्तार र पहुँच वृद्धि भएसँगै अनलाइन कारोबार तथा सामाजिक सञ्जालमा गतिविधि बढेसँगै सुरक्षा जोखिम र चुनौतीहरू पनि त्यतिकै बढ्दै गएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !