८ बैशाख २०८१, शनिबार

अध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघमा निर्वाचित


बद्री सिग्देल

काठमाडौँ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन् । ओमानको राजधानी मस्कटमा जारी अन्तर्राष्ट्रिय पत्रकार महासंघको वल्र्ड कङ्ग्रेसमा उनी मङ्गलबार आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित हुनुभएको सो भेलामा सहभागी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए ।

अध्यक्ष सिग्देल एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएका हुन् । आइएफजेको यो तहमा नेपालबाट निर्वाचित हुने युनियनका अध्यक्ष सिग्देल सम्भवतः पहिलो व्यक्ति भएको युनियनका कावा महासचिव भीष्मराज ओझाले जानकारी दिए ।

प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । श्रमजिवी पत्रकारका हकहित र लोकतन्त्रका लागि योगदान गर्नेलगायत उद्देश्यका साथ युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !