६ बैशाख २०८१, बिहिबार

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द गर्ने निर्णय


नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द गर्ने निर्णय

काठमाडौं, असार २५ । नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द गर्ने निर्णय गरिएको छ । नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरुको प्रसारण रोकिएको हो । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् ।

वितरकहरुले आज बिहीबार साँझदेखि दूरदर्शन बाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको हो । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जि न्यूजले अनर्गल र अनिरञ्‍जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले त्यसको भत्र्सना गरेको छ ।

“भारतीय सञ्चार माध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ, भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ, महासङ्घ भारतीय सञ्चार माध्यमको अनर्गल र बकवासपूर्ण प्रचारप्रसारको कडा शब्दमा भत्र्सना गर्दछ”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारका सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चार माध्यमहरुले प्रशारण गरिरहेको सामाग्रीप्रति प्रेस संगठन नेपालले कडा आपत्ति जनाएको छ । भारतीय मिडियाका पछिल्ला हर्कतले नेपालको स्वाभिमानमाथि नै गम्भीर आँच पुर्याउने काम भइरहेको भन्दै सो संगठनले खेद प्रकटसमेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !