१३ बैशाख २०८१, बिहिबार

हिल्सामा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगायो


हुम्ला हिल्सा

सिमकोट। चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा क्षेत्रमा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगाएको छ । हिल्साको नौमूलेमा रहेको मुहानमा माथिबाट आएको पहिराले पाइप लाइन बगाउँदा खानोपानी अवरुद्ध भएको छ ।

शुक्रबार बेलुका खानेपानीको मुहान रहेको नौमूलेमा माथिबाट आएको पहिराले सबै पाइप लाइन बगाएको हिल्साका होटेल व्यवसायी कर्मा लामाले बताए । चीनसँगको सिमाना पर्ने हिल्सामा पहिरो जाँदा नब्बे घरधुरीले प्रयोग गर्दै आएको खानेपानीको पाइपलाइन बगाउँदा पानीको समस्या भएको उहाँले जानकारी दिए ।

सीमा सुरक्षा प्रहरी चौकी (विओपी) का सुरक्षाकर्मीले पनि पहिले ट्याङ्कीमा भएको पानी प्रयोग गरिरहेका र दुई दिनपछि समस्या हुने देखिएको छ । बस्ती तलको कर्णाली नदीको पानी पहिराले धमिलो भएका कारण पिउन योग्य नरहेको उनले बताए ।

पहिराले खानेपानीका पाइप लाइनका साथै बीस मिटरभन्दा बढी कर्णाली करिडोरको हिल्साको सडक पनि भत्काएको छ । पहिराको लेदो धेरै भएको कारण तत्काल त्यसलाई मर्मत गर्न सकिने अवस्था नरहेको सुरक्षा चौकीले जनाएको छ । हाल हिल्सामा २२ सर्वसाधारण र १५ सीमा सुरक्षा चौकीका सुरक्षाकर्मी बस्दै आएका छन् । पहिराबाट भएको क्षतिको विवरण भने आएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !