११ बैशाख २०८१, मंगलबार

बेनी–जोमसोम सडक अवरुद्ध


Beni-Jomsome-Road-1

म्याग्दी, ३० भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । करिब २०० मिटर सडक पहिरो र रुप्सेखोलाको बाढीले बगाएपछि सोमबारदेखि सवारी आवत–जावत अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । “मान्छे पनि हिँड्न नमिल्ने गरी ट्र्याक बगाएको छ”, उहाँले भन्नुभयो, “मानिस आउजाउ गर्ने काठको अस्थायी पुल (साँघु) बनाएका छौँ । पहिरो नरोकिए र बाढी कम नहुँदासम्म सडक मर्मत गर्न गाह्रो छ ।”

सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ बजार पठाउन समस्या भएको छ । मुस्ताङका बगैँचामा स्याउ टिप्न शुरु भएको छ । यसैगरी ढुवानी र अत्यावश्यक कामका लागि आवतजावत पनि प्रभावित भएको छ । छैहत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत प्रभावित भएको छ । बिरामीलाई अस्पताल लैजान महँगोमा हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । सडक मर्मत गरी यातायात सञ्चालनका लागि पहल गरिएको मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । यसअघि गत असार २६ गतेदेखि अवरुद्ध भएको सडक यही भदौ ९ गतेदेखि सञ्चालनमा आएको थियो ।

असार २६ गते रघुगङ्गा नदीमा आएको बाढीले भत्काएको गलेश्वरको बेलिब्रिज साउन २७ गते मर्मत गरेर सञ्चालन गरिएको थियो । यसैगरी साउन ५ गते रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र चालू अवस्थामा रहेको दुई वटा मोटरेबल पुलसहित रुप्सेमा सडक बगाएको थियो ।

मृतकका आफन्तलाई रु ३५ लाख राहत
गत असारमा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा गएको पहिरोमा ज्यान गुमाएकाका आफन्तलाई सङ्घीय सरकारले पठाएको राहत हस्तान्तरण गरिएको छ । असार २५ र २६ गतेको पहिरोमा ज्यान गुमाउने २३ जना मृतकका परिवारलाई गृह मन्त्रालय पठाएको रु ३५ लाख वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मराङको राम्चेका चार जना मृतकका नजिकका हकदार विदेशमा भएकाले पछि हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

“बिमको तल्लो गाउँका वीरबहादुर नेपालीसहित परिवारका चारै जनाको मृत्यु भएका कारण हकदार नभएकाले राहत वितरण भएन्”, उहाँले भन्नुभयो, “सरकारको पछिल्लो नियमअनुसार एउटा परिवारका एक जना सदस्यको मृत्यु भएमा दुई लाख र एकभन्दा बढीको एक लाख बढाएर एउटा परिवारलाई पाँच लाखसम्म राहत वितरण गरेका छाँै ।” यसअघि प्रतिमृतक रु एक लाखका दरले राहत पाउने व्यवस्था थियो । बेपत्ताको हकमा जीवित फर्किएको अवस्थामा फिर्ता गर्ने र नभेटिए सरकारले दाबी नगर्ने सर्तसहित मृतक सरहनै राहत उपलब्ध गराइएको छ ।

नगदै वितरण गरिएको राहत रकम कार्यक्रमस्थलमै प्रभु र गरिमा बैंकको दरवाङ शाखाका कर्मचारीलाई बोलाएर खाता खोल्न लगाई जम्मा गरिएको थियो । राहत वितरणका लागि सुरक्षा अधिकारीसहित दरवाङ पुग्नुभएका प्रजिअ अधिकारीले दुईवटै स्थानीय तह र वडाका जनप्रतिनिधिको रोहबरमा राहत वितरण गर्नुभएको थियो । राहतले पीडामा मल्हम लगाउने अपेक्षा गर्दै प्रजिअ अधिकारीले अतिआवश्यकबाहेकका काममा पैसा खर्च नगर्न सुझाव दिनुभयो । प्रदेश सरकारले पठाएको राहत रकम पनि छिट्टै वितरण गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले पीडितको साथमा तीनै तहका सरकार रहेको बताउँदै राहतबापत प्राप्त रकमले आवास व्यवस्थापनमा उपयोग गर्न आग्रह गर्नुभयो । धौलागिरिका अध्यक्ष पुनले मृतकका प्रतिपरिवार रु दश हजार रुपैयाका दरले किरिया खर्चबापत गाउपालिकाले उपलब्ध गराएको बताउनुभयो । मालिकाका अध्यक्ष रोकाले किरिया खर्चबापत मृतकका परिवारलाई रु २५ हजारका दरले उपलब्ध गराइने बताउनुभयो ।

उहाँहरुले पहिरोबाट घरबास गुमाएकाको पुनःस्थापनाका लागि सुरक्षित ठाउँमा जग्गाको खोजी भइरहेको बताउनुभयो । असार २५ र २६ गतेको पहिरोमा मराङमा १९ जनाको मृत्यु, दुई जना बेपत्ता, बिममा आठ जनाको मृत्यु र एक जना बेपत्ता र दुखुमा एक जना बेपत्ता भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !