२ आश्विन २०८१, बुधबार

सिन्धुपाल्चोक लिदीमा भीषण पहिरो : १३ घरहरु पुरिए, ३५ जना बेपत्ता


सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ लिदीको लामा टोलमा भीषण पहिरो

सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ लिदीको लामा टोलमा भीषण पहिरो गएको छ । सो पहिरोमा १३ वटा घरहरु पुरिएका छन् भने ५ वटा घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएका छन् । साथै सो क्षेत्रमा २५-३० घरहरु जोखिममा छन् ।

आज शुक्रबार बिहान करीव साढे ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । केही मानिसले भागेर ज्यान जोगाएको जुगल गाउँपालिका स्रोतले जानकारी दिएको छ । बस्तीमाथिबाट आएको पहिरोले घरहरु पुरेको हो । सो पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

पहिराले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको र उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीयवासी आशबहादुर तामाङले जानकारी दिए । पुरिएका ५ घरका सबै सम्पर्कविहीन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिए ।

पहिरो खस्ने क्रम जारी रहेको र जमिन पनि भासिएकाले उद्दारमा कठिनाई भएको बताइएको छ । पहिरोले घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको स्थानीयले बताएका छन् । नजिकै प्रहरी र अर्को बस्ती पनि नभएकाले उद्दारमा समस्या भएको पहिरो प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् ।

नजिकै पर्ने कात्तिके भन्ने स्थानवाट पहिरो प्रभावित क्षेत्रमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाउँपालिका स्रोतले दिएको जानकारी अनुसार हिडेर मानिस पुगेर उद्धार गर्न एकदमै कठिन भएकोले हेलिकोप्टर परिचालनको तयारीमा भई रहेको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !