१३ बैशाख २०८१, बिहिबार

स्याङ्जा पहिरो अपडेट : मृतकको संख्या ३ जना पुग्यो, १ जना अझै बेपत्ता


स्याङ्जा पहिरो

काठमाडौं, असार ३० । स्याङ्जा जिल्लामा पहिरोमा परेर मृत्यु हुनेको संख्या ३ जना पुगेको छ भने १ जना अझै बेपत्ता रहेको छ । साथै २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

मंगलबार बिहान कालिगण्डकी गाउँपालिका ४ स्थित खानेपानीको मुहान बनाउन गएका ६ जनामाथि पहिरो खसेको थियो । आज बिहान ९:३० बजेको समयमा जिल्ला स्याङ्जा कालीगण्डकी गाउँपालिका-४ खहरे स्थित पानी बनाउन जान भनी हिंडेका ६ जना बाटोमा हिड्ने क्रममा माथिबाट पहिरो आई पुरिएको थियो ।

मृत्यु हुनेमा सोही गाउँपालिका बस्ने ६५ वर्षीय गाविसका पूर्वअध्यक्ष ईमानसिंह राणा, ६० वर्षीय जिमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापा छन् । जिमानसिंह र टीकाबहादुर उद्दारको क्रममा मृत अवस्थामा फेला परेका हुन् । प्रेमचन्द्र पाण्डे भने अझै बेपत्ता छन् । कार्यालयका अनुसार उनको खोजी जारी छ ।

साथै घाइते दुई जनाको उपचारका लागि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ । घाइते हुनेमा वडा नम्बर ४ का ६८ वर्षीय वडा सदस्य हुमानाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर राणा छन् ।

त्यस्तै सोही ठाउँको खहरे खोलामा बाढी आएपछि चार घर परिवारका २३ जनालाई सुरक्षित स्थानमा लगिएको छ । बाढीले ४ घर विस्थापित हुने देखिएकोले उनीहरूलाई सुरक्षित स्थानमा राख्न लगिसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !