७ बैशाख २०८१, शुक्रबार

घरमा आफैँ आगो लगाएपछि…


भारतमा आगलागी

गलकोट, ८ जेठ । बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ ।

बुधबार राति ९ः०० बजेपछि प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । गोठमा बाँधिएका पशु भने फुकाइएको थियो । घरगोठ जल्दा रु दुई लाख ४५ हजारबराबरको क्षति भएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । घरधनी सुरजले रातिको समयमा मदिरा सेवन गरी श्रीमती राधिका र छोराछोरीलाई पिट्न थालेपछि उनीहरु भागेका थिए । त्यही सयममा कुमालले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ । श्रीमान्ले आफूहरुलाई कुट्न थालेपछि छोराछोरी लिएर ज्यान बचाउन छिमेकीको घरमा पुगेका बेला श्रीमान्ले आफ्नै घरमा आगो लगाएको पीडित राधिकाले बताउनुभयो ।

श्रीमान्ले अत्यधिक मदिरा सेवन गर्दै आएका कारण आफू समस्यामा पर्दै आएको उहाँले गुनासो गर्नुभयो । घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयवासीले घरभित्रैबाट निकालेका थिए । आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्बाङमा राखेको छ ।

खरको छानो विस्थापित गरी टिनको छाना लगाउने गरी तयार गरिएका सबै काठसहित सिङ्गो घर गोठ नै जलेपछि परिवार बिचल्लीमा परेको छ । परिवारमा श्रीमान् श्रीमतीसहित तीन छोरा र एक छोरी छन् । बन्दाबन्दीको समयमा घर गोठ जल्दा खाने बस्नेको समस्या भएको छ ।

घर जलेपछि छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्बाङले त्रिपाललगायतका अत्यावश्यक वस्तु सहयोग गर्ने सभापति होमनाथ अर्यालले जानकारी दिनुभयो । आगलागीपीडित कुमालको परिवारलाई गाउँपालिकाले समेत राहत प्रदान गर्ने बडिगाड गाउँपालिकाले जनाएको छ ।

क्वारेन्टिनमा बसेका घर फिर्ता
बागलुङ नगरपालिका–१ रामरेखा क्वारेन्टिनमा बसेका २२ जना पिसिआर परीक्षणपश्चात् घर पठाइएको छ । तराईका जिल्ला तथा भारतबाट जिल्ला आएका २२ जना क्वारेन्टिनमा बस्दै आएको बागलुङ नगरपालिकाले जनाएको छ । उनीहरुको मङ्गलबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार उनीहरुलाई घर पठाइको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । “आइतबार स्वाब सङ्कलन गरी पोखरा पठाइएकामा मङ्गलबार कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टिनबाट बिदाइ गरिएको छ”, उहाँले भन्नुभयो, “उनीहरुलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ ।”

सो नगरपालिकाले निर्माण गरेको रामरेखा आधारभूत विद्यालयमा अहिले एकजनामात्रै र रमेटारस्थित धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा तीनजनालाई राखिएको उहाँले जानकारी दिनुभयो । नगरपालकाले शुरुमा निर्माण गरेको २० श्यया क्षमताको क्वारेन्टिनलाई थप गरी ६० श्ययाको निर्माण गरेको छ ।

सो नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयोजनमा भारतबाट आएर भैरहवा तथा कैलालीलगायत जिल्लामा बस्दै आएका ५८ जनाको उद्धार गरिसकेको छ । नगरपालिकाले उद्धारलाई ध्यानमा राखी बागलुङ नगरपालिका–४ रमेटारस्थित धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा ४० श्ययाको क्वारेन्टिन थप गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !