१३ बैशाख २०८१, बिहिबार

मोहना पुल नजिकै एकको मृत्यु


मृत फेला

कैलाली, ३० फागुन । धनगढीको मोहना पुल नजिकै विद्युतीय रिक्सामा बेहोसअवस्थामा भेटिएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१ निवासी भैरवजंग पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृत्यु हुनाका कारण खुल्न नसकेको र मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

कृषक समूहलाई माहुरी वितरण

धनगढी उपमहानगरपालिकाले धनगढी– ८ स्थित श्री गणेश टोलमा रहेको भलाकुसारी महिला कृषक समूहलाई २० घार माहुरी वितरण गरेको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र वडा नं ८ का अध्यक्ष नारायण बरालले संयुक्त रुपमा सो समूहलाई २० घार माहुरीलगायत मह निकाल्ने मदानी बिहीबार प्रदान गर्नुभयो ।

उपमहानगरपालिकाको युवालक्षित कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा माहुरीसहितको घार उपलब्ध गराएको बताइएको छ । यसमा ५० प्रतिशत लगानी समूहको छ । सो सम्ूहले राम्रो गरेमा माहुरीको बीउ स्रोत केन्द्रका रुपमा विकास गरिने नगरपालिकाको योजना छ । समूहले गरेको मागका आधारमा माहुरी र घार उपलब्ध गराएको जनाइएको छ । नगर प्रमुख वडले राम्रो गर्ने किसानलाई थप सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याउने धारणा व्यक्त गर्नुभयो । आफूहरु माहुरीको स्रोतकेन्द्र बनाउने उद्देश्यका साथ जुटेको समूहले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !