६ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा थप २,९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २९७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ५० हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ जनाको नमूना परीक्षण गर्दा २ हजार ९७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मुलुकभर ७ हजार ८३५ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ७७ जनामा र ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३३३ सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ७५६ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा दुई हजार ७८८ छन् । यसैगरी ५७१ आइसियूमा र १६१ जना भेन्टिलेटरमा बसेर उपचार गराइरहेका छन् ।

नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या ६ लाख १४ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार २९१ भएको छ । देशभर ३३ लाख ९१ हजार ३७९ नमूनाको पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा ३२३ जना रहेका छन् । आइसोलेसनमा रहनेको सङ्ख्या २६ हजार ५४४ छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५४३ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९०, ललितपुरमा ८७ र भक्तपुरमा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !