७ बैशाख २०८१, शुक्रबार

सिद्धार्थ वनस्थली स्कुलका संस्थापक लक्ष्मण राजवंशीको निधन


लक्ष्मण राजवंशी

काठमाडौँ । संविधानसभा सदस्य तथा सिद्धार्थ वनस्थली स्कुलका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको निधन भएको छ । १२ दिनअघि घरको भर्याङ्गवाट लडेर घाइते भई राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारत आज बिहान साढे ८ बजे ८६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

शिक्षाविद् तथा साहित्यकार समेत रहेका राजवंशीको दुई हप्ताअघि आफ्नै घरको भर्‍याङबाट लडेर घाइते भएपछि अचेत अवस्थामा रहेका उनको भेन्टिलेटरमा अचेत अवस्थामा नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । पारिवारिक स्रोतका अनुसार उनको टाउकोमा चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो ।

उनी नेपाः राष्ट्रिय पार्टीको तर्फबाट दोश्रो संविधानसभाको सदस्य बनेका थिए । राजवंशी सभामुख र उपसभामुखले राजीनमा दिएपछि जेष्ठ सदस्यका हिसावले संसद बैठकको अध्यक्षता पनि गरेका थिए ।

राजवंशी नेपाल भाषाका प्रसिद्ध कथाकार तथा निबन्धकार, साहित्यकार, लेखक, विगतमा नेपाल भाषा एकेडेमी उपकुलपति, शिक्षाबिद, शिक्षाप्रेमी तथा समाजसेवी, २०४६ सालमा शिक्षामन्त्रीको सल्लाहकार भएका थिए ।

५२ वर्ष शिक्षण, २८ वटा पुस्तक प्रकाशित, २ वटा पुस्तक प्रकाशोन्मुख, एस.एल.सी. जेलबाट दिएका उले सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्रिन्सिपल भएर ४२ वर्ष काम गरेका थिए । आनन्दकुटी बिधापिठमा १० बर्ष प्रधानाध्यापक, बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन र गोष्ठीहरुमा सहभागिता, बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका थिए ।

वि.सं. २००५ राजनीतिमा प्रवेश गरी ६ महिना भूमिगत जीवन, ८ महिना निर्वासन जीवन र पटक पटक गरी २ बर्ष बन्दी जीवन बिताएका राजबंशी मानवधर्मलाई अवलम्वन गर्ने गर्थे ।

उनको अहिले पशुपति आर्यघाटमा दांहसंस्कार भई रहेको परिवारले जानकारी दिएको छ । उनका रुपक राजवंशी र दिपक राजवंशी २ जना छोराहरु रहेका छन् भने १ जना छोरी निलु राजवंशी रहेकी छन् । उनकी लगभग ८५ वर्षीया धर्मपत्नी शोभना राजवंशी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !