४ बैशाख २०८१, मंगलबार

केन्द्रीय कारागारमा कैदीको शंकास्पद मृत्यु, कोरोनाबाट मृत्यु भएको जेल प्रसाशनको भनाई


केन्द्रीय कारागार

काठमाडौं, असोज ७ । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका एक कैदी बन्दीको शंकास्पद मृत्यु भएको छ । केन्द्रीय कारागारको भद्र ब्लकमा जेल जीवन बिताइरहेका सिद्धार्थनगर नगरपालिका–५, रूपन्देहीका कैदी बन्दी ६३ वर्षीय रामलखन जैसवाललाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति पौने १० बजे वीर अस्पताल लगिएको थियो ।

केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार जैसवालमा पार्किन्सनको समस्या थियो । उनी बेलाबेला श्वासप्रश्वासमा समस्या हुँदा लड्ने गरेका थिए । उनलाई चार वर्षअघि सोही समस्याका कारण भैरहवाबाट काठमाडौं सारिएको थियो ।

‘श्वासप्रश्वासमा समस्या भएपछि कारागारकै अस्पतालमा लग्यौं, त्यहाँबाट फेरि वीर अस्पताल लगिएको हो, उहाँमा पार्किन्सनको समस्या थियो,’ केन्द्रीय कारागारका जेलर बाँस्कोटाले भने ।

केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीहरू बढ्दै गएका कारण वीर अस्पतालले भने जैसवालको कोरोना परीक्षण गरेको थियो भने परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको थियो । त्यसैकारण कारागारले कोरोना संक्रमणकाबाट उनको निधन भएको हुन सक्ने भनेको छ ।

तर जैसवालको परिवार भने सो दाबीमा सहमत छैन । उनीहरूले जैसवालको मृत्यु नभई हत्या भएको बताउँदै आइरहेका छन् । जैसवालको शव राखिएको स्थानमा मंगलबार बिहान उनकी छोरी गएर हेर्दा आँखा सुन्निएको, शरीरमा फोकाहरू रहेको र रगतसमेत बगिरहेको देखेपछि उनको परिवारले मृत्यु नभई हत्या भएको दाबी गरेको हो ।

आँखा सुन्निएको, आँखा र मुखबाट रगत बगिरहेको र शरीरमा पानीका फोकाहरू समेत देखिएका कारण कोरोनाकै कारण मृत्यु भएको मान्न नसकिने र छानबिन हुनुपर्ने परिवारको माग रहेको आजको राजधानी दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !