, बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु

बाँकेमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

राँझा, ११ भदौ । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट आज थप १ जना ७० वर्षीयाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी महिलाको आज बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते अपराह्न ३ बजे सङ्क्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रदै गएपछि भदौ ६ गते राति १० बजे शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै पनि बिरामीको अवस्थामा सुधार नआएपछि आज बिहान मृत्यु भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिनुभयो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुने ६ जना पुगेका छन् । यसअघि नरैनापुर गाउँपालिका-५ निवासी २५ वर्षीय युवक, बैजनाथ गाउँपालिका-६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका-२ निवासी ७० वर्षीया महिला, नेपालगञ्ज-५ निवासी ६२ वर्षीय पुरुष र नेपालगञ्ज-१ निवासी ३७ वर्षीय युवकको कोरोनाबाट मृत्यु भइसकेको छ ।