६ बैशाख २०८१, बिहिबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणवाट थप २ जना पुरुषको मृत्यु


मृत्यु

वीरगञ्ज, भदौ ६ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप २ जनाको मृत्यु भएको छ । पर्साको बहुदरमाई नगरपालिका-४ डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको आज बिहान ७:१० बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनी मुटु, दम र उच्च रक्तचापका बिरामी थिए । उनमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगञ्जको अलि अर्थो ट्रमा सेन्टरमा लगेर भर्ना गरिएको थियो ।

भदौ ३ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन ४ गते कोरोना संक्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट उनलाई साउन ४ गते राति नै वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो । कोभिड अस्पतालमा उपचारकै क्रममा आज शनिबार बिहान उनको मृत्यु भएको हो ।

साथै यसअघि हिजो शुक्रबार राति वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमै अर्को १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-२६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो । उनी मृगौला र मधुमेहका रोगी थिए ।

ती पुरुषमा खोकी र स्वास प्रश्वासमा समस्या भएपछि भदौ ४ गते वीरगन्जकै तराइ हस्पिटलमा लगेर भर्ना गरिएको थियो । दुवै मृगौलाले काम गर्न छाडेपछि डायलोशीसको तयारी गर्दा-गर्दै अवस्था झन गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति ८ बजे उनको मृत्यु भएको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ । साउन यतामा मात्रै ३१ जनाको मृत्यु भएको हो । वीरगञ्जमा अहिलेसम्म कोरोना संक्रमणवाट मृत्यु भएका ३४ जनामध्ये पर्साका २७ जना, बाराका ५ जना र रौतहटका २ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !