८ बैशाख २०८१, शनिबार

विराटनगरमा होम आईसोलेसनमा कोरोना संक्रमितको मृत्यु


मृत्यु

विराटनगर, भदौ ५ । विराटनगरमा अस्पताल नलग्दा ‘होम आइसोलेसन’मै १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । विराटनगर-६ सरोचिया निवासी ४५ वर्षीय पुरुषको हिजो बिहीबार बेलुका ८ बजे घरमै मृत्यु भएको हो ।

बुधबार रिपोर्ट पोजिटिभ आएपछि ‘होम आइसोलेसन’मै राखिएका ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको वडा अध्यक्ष विजय कामतले जानकारी दिए । पीसीआर परीक्षणका लागि भदौ १ गते सोमबार उनको स्वाब संकलन गरिएकोमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी लामो समयदेखि सुगर र प्रेसरले ग्रसित थिए ।

रिपोर्ट पोजिटिभ आएपनि कोभिड अस्पतालमा आइसोलेसन बेडको अभाव रहेको भन्दै उनलाई ‘होम आइसोलेसन’मै राखिएको थियो । ‘स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएपनि बेड खाली नभएको भन्दै अस्पतालले लिन नमानेपछि घरमै संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आएको हो ।

उनका अनुसार मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले लैजाने तयारी गरिरहेको छ । यससंगै विराटनगरमा हालसम्म कोरोना संक्रमणवाट ९ जनाको मृत्यु भई सकेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !