७ बैशाख २०८१, शुक्रबार

वीरगञ्जमा बिहीबार मृत्यु भएका बाराका २ जनामा कोरोना पुष्टि


पुरुषको शव फेला

वीरगञ्ज, साउन २९ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बिहिबार विहान मृत्यु भएका बाराका २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा वाराका ती दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ ।

बाराको प्रसौनी गाउँपालिका-२ प्रसौनीका ६५ वर्षीय पुरुषको आज बिहान कोरोना अस्पतालमा मृत्यु भएको थियो । उनी दमका पुराना रोगी पनि थिए । उनमा ज्वरो र खोकी लागेपछि परिवारले वीरगन्जको नारायणी वयोधा अस्पताल ल्याएका थिए । वयोधाले नारायणी कोरोना अस्पताल रेफर गरेको थियो । पछिल्लो समय स्वास-प्रश्वासमा समस्या देखिएको उनको उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको थियो ।

साथै जीतपुर सिमरा उपमहानगरपालिका-४ औराहाका ५० वर्षीय पुरुषको आज बिहान कोरोना अस्पतालमा मृत्यु भएको थियो । उनी पनि मधुमेह र उच्च रक्तचापका पुरानो बिरामी थिए । उनमा ५ दिनदेखि ज्वरो र खोकी समेत लागेको थियो ।

बुधबार स्वास फेर्न गाह्रो भएपछि परिवारले उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेज पुर्‍याएतापनि त्यहाँ आईसीयू खाली नभएको भन्दै नारायणी कोरोना अस्पताल पठाइएको थियो । उनको छातीको एक्स-रे रिपोर्ट हेर्दा निमोनिया देखिएको थियो । कोरोना अस्पतालमा भेन्टिलेटरमा उपचार हुने क्रममा आज बिहीबार बिहान ९ बजेतिर मृत्यु भएको थियो ।

योसँगै बारा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ जना पुगेको छ । योसंगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ९७ पुगेको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !