८ बैशाख २०८१, शनिबार

बझाङ पहिरो अपडेट : ६ जना जनाको शव निकालियो, १ जना बेपत्ता


बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता, १७ घर पुरिए फाइल फोटो

बझाङ, असार २० । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका-८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ । जिल्लास्थित बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका ६ जनाको शव निकालेका हुन् भने १ जना भने अझै बेपत्ता रहेका छन् ।

वडा अध्यक्ष गणेशबहादुर बोहोराका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा, ७ बालिका अष्मिता जेठारा, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको हो । २० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता भएको वडा अध्यक्ष बोहोराले जानकारी दिएका छन् ।

अझै बेपत्ता रहेका १ जनाको खोजी कार्य जारी राखिएको छ । गएराति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका-८ को मल्लेसीका २० घर बगाएको उनले बताएका छन् । राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाएपनि ७ जना भने पहिरोमा पुरिएका थिए ।

यसैबिच पहिरो पीडितका लागि गृह मन्त्रालयसँगको समन्वयमा खाद्यान्न तथा लत्ताकपडा सहित हेलिकोप्टर जाँदैछ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार संघ र प्रदेश सरकारले राहत पठाउन लागेको जानकारी पाएको बताएका छन् । तर घटनास्थलमै ल्याण्ड गर्न नसक्ने भएकाले जिल्लास्थित सेनाको ब्यारेकमा सामान झारेर गाडीबाट लैजाने तयारी भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !