७ बैशाख २०८१, शुक्रबार

दैलेखमा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि


मृत्यु

सुर्खेत, असार ११ । दैलेख जिल्लामा आत्महत्या गरेका युवकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले आज बेलुका ६:१५ एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. लक्ष्मी नारायण तिवारीका अनुसार मंगलवार असार ९ गते बिहान घर नजिकै झुण्डिएको अवस्थामा भेटिएका दुल्लु नगरपालिका-१० का २१ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो बुधबार नै युवकको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो । अस्पतालले पीसीआर जाँच नगरी पोष्टमार्टम गर्न नमानेपछि स्वाब संकलन गरी सुर्खेत पठाइएकोमा बिहीबार रिपोर्ट पोजेटिभ आएकोथियो ।

गत जेठ ११ गते भारतबाट दैलेख आइपुगको युवक पञ्चकोसी माध्यामिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेका थिए । उनीसँगै क्वारेन्टिनमा बसेका २११ जनाको आरडीटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो ।

योसँगै दैलेखमा मात्रै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ भने कर्णालीमा ६ पुगेको छ । यसअघि सुर्खेतमा २ जना, दैलेखमा २ जना र डोल्पामा १ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका ६ जनामध्ये ५ जनामा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो भने १ जनामा मृत्युअघि नै संक्रमण पुष्टि भएको थियो ।

दैलेखमा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !