१२ बैशाख २०८१, बुधबार

पर्वतको कुश्मा पहिरो अपडेट : मृतकको संख्या ५ पुग्यो, बेपत्ताको खोजी जारी


कुश्मा पहिरो

पर्वत, ३२ जेठ । पर्वत जिल्लाको कुश्मा नगरपापिलका-३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ भने पहिरोले पुरिएका अन्य ४ जना बेपत्ताको खोजी जारी रहेको छ ।

उक्त पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको छ । ३ जनाको शनिबार राति र २ जनाको आइतबार बिहान शव भेटिएको हो । घटनास्थलमा उद्धारका लागि पुगेका सुरक्षाकर्मीहरुको टोलीले ३ जनाको शव पुरिएको अवस्थाबाट निकालेको हो ।

शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती ५१ वर्षीया मीनकुमारी थापा र नातिनी ८ वर्षीया विविशा थापाको शव फेला परेको हो । अन्य दुई जना ३० वर्षीया दिपा थापा र ३५ वर्षीया कमला बिक पुरिएकै अवस्थामा मृत फेला परेको भएपनि उनीहरुलाई बाहिर निकाल्न समस्या भएको छ । उक्त पहिरोमा थप ४ जना बेपत्ता हुनेहरुमा १४ वर्षीय सम्राट थापा, १६ वर्षीय विवेक थापा, १३ वर्षीय जेनिस बिक र ७ वर्षीय प्रनिस बिक रहेका छन् ।

उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिनुभयो ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताउनुभयो । शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो ।

पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपाया समेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ । वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रमुख गुरुङले जानकारी दिनुभयो । परिवारका सबैजना सुतिरहेको अवस्थामा खसेको पहिरोले सबै पुरिएका हुन् ।

घटनास्थल पुगेका वडाध्यक्ष तेजप्रसाद पाध्यायका अनुसार स्थानीय भुवन गिरीको घर पनि पहिरोले पुरेको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित स्थानीयबासी समेत उद्धारमा संलग्न छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !